पोखरा,४ भदौ २०८१ ।
बुबा लिला कुमार श्रेष्ठ लामो समयदेखि बैदेशिक रोजगारीका लागि मलेशिया रहेकै बेला छ महिना अघि अध्ययन गर्न दक्षिण कोरिया पुगेकी इलामकी एक युवतीको त्यहीं निधन भएको छ।
दक्षिण कोरियास्थित उल्सान विश्वविद्यालयमा अध्ययनरत इलामको माई नगरपालिका–१ तिलटारकी २० वर्षीया सोनु श्रेष्ठको आइतबार हृदयघातका कारण निधन भएको खबर परिवारसम्म आइपुगेको उनका फुपाजु होम श्रेष्ठले जानकारी दिए। अद्यपि, के कारणले निधन भएको हो भन्ने अहिलेसम्म खुलेको छैन।
बैदेशिक रोजगारीका क्रममा मलेसियामा रहेका उनका बुबा लिलाकुमार श्रेष्ठको पनि तीन महिनाअघि मात्रै निधन भएको थियो। उनको शब नेपालमै ल्याएर अन्तिम दाहसंस्कार गरिएको थियो।
इलाम कोरिया जनसम्पर्क मञ्चका अध्यक्ष हरि खनालका अनुसार सोमबार दिउँसो उनको शव पोस्टमार्टम भइसकेको छ। पोस्टमार्टमको रिपोर्ट भने अस्पतालले दूतावासलाई दिइसकेको छैन।
सोनीको शब नेपाल ल्याउन पहल गरिदिन अनुरोध भए पछि उनको शव नेपाल पठाउनका लागि आफूहरूले पहल गरिरहेको पनि खनालले जानकारी दिए।
दक्षिण कोरियाबाट नेपाल शब् पठाउन कम्तीमा पनि १२ लाख रुपियाँ लाग्ने भएका कारण त्यसको प्रबन्धका लागि आफूहरु लागि परिरहेको उनले बताए।
सोनुका परिवारमा अन्य तीन सदस्य छन्, आमा, भाइ र बैनी। एउटी दिदीको भने बिहे भइसकेको छ।
४५ वर्षीया आमा प्रतिमा श्रेष्ठ गाउँमै सामान्य खेतीपाती गर्छिन्। सोनुका भाइ कक्षा ७ मा र बैनी कक्षा १२ मा अध्ययन गर्छिन्।