पोखरा, २७ फागुन २०८०/
अमेरिकामा एक जना नेपाली दम्पत्ति पक्राउ परेका छन्। अमेरिकाको केन्टकी राज्यको लेक्जिङटनमा अनुहारमा धेरै चोटपटक लागेको अवस्थामा दुई महिनाका बच्चा मृत भेटिएपछि अमेरिकामा एक नेपाली दम्पत्ति पक्राउ परेका हुन्।
। बच्चाको मृत्यु गतबर्षको जुनमा भए पनि प्रहरीले अहिले आएर बुधबार उनका बाबुआमा रहरमाया राई र चन्द्रबहादुर मगरलाई पक्राउ गरेको अमेरिकाबाट प्रकाशित हुने खसोखास डटकमले समाचार लेखेको छ।
३१ वर्षीय रहर राई र ३४ वर्षीय चन्द्र मगरका लागि जारी पक्राउ पूर्जिमा गत बर्षको जुन २०२३ मा लेक्जिङटन प्रहरी सेन्टर पार्कवेमा रहेको उनीहरुको अपार्टमेन्टमा पुग्दा मृत दुई महिनाको शिशु फेला परेको उल्लेख छ । शिशुको अनुहार र खुट्टामा गहिरो टोकेको निशानहरू भेटिएका थिए जुन निको हुने विभिन्न चरणहरूमा थिए। शिशुको खुट्टामा गहिरो टोकेको निशान थियो भने र खोपडी, आँखा र टाउकोमा आन्तरिक रक्तस्राव भएको थियो ।
पोस्टमार्टम रिपोर्टले बच्चालाई आन्तरिक रक्तस्राव भएको र धेरै आन्तरिक चोटहरू रहेको खुलासा गरेको थियो । बाह्य चोटहरु पनि विभिन्न चरणहरूका थिए । बच्चाको मृत्यु हुनुभन्दा एक साताअघि उनीहरुको अर्को चार बर्षीय बच्चाले दुर्व्यवहार गरेको देखेको आमाले स्वीकार गरेको रिपोर्टमा उल्लेख छ । चार बर्षीय अर्को बच्चाको दुर्व्यवहारबाट शिशुको मृत्यु भएको देखिएको छ ।
बाबुआमाले बच्चाको लागि चिकित्सा उपचार नखोजेको पनि कागजातमा उल्लेख छ । शिशुको आमाले शिशुका चोटपटक नदेखेको बताएकी थिइन् । बाबु बुबा चन्द्र मगरले बच्चासँगै घरमा दिनहुँ मदिरा सेवन गरेको स्वीकार गर्दै चोटपटक नदेखेको बयान दिएका थिए । राई र मगरलाई दोस्रो डिग्री आपराधिक दुर्व्यवहारको आरोपमा पक्राउ गरिएको हो । उनीहरूलाई दुबै जनालाई एक-एक लाख डलर धरौटी तोकेर फेयेट काउन्टी डिटेन्सन सेन्टरमा राखिएको छ।
उनीहरुलाई बिहीबार अदालतमा पेश गरिएको थियो । अदालतमा उनीहरुलाई नेपाली भाषा अनुवादकको सहयोगमा भर्चुअल रुपमा पेश गरिएको थियो । बिहीबारको अदालती सुनुवाईमा दुबैजनाले अपराध अस्वीकार गरेका छन् । न्यायाधीशले उनीहरुविरुद्ध थप आरोपहरू आउन सक्ने बताएका छन् भने दम्पत्ति दुवैलाई एकअर्कालाई सम्पर्क नगर्न आदेश दिएका छन् । अर्को सुनुवाई मार्च १२ मंगलबारका लागि तोकिएको छ ।