टोकियो (जापान) १९ फागुन २०८०
नेपाली पत्रकारहरुको अन्तर्राष्टिय सञ्जाल (इन्जा)को शुक्रबार जापानको राजधानी टोकियोमा सम्पन्न अन्तर्राष्टिय सम्मेलनले गुणराज लुइँटेलको नेतृत्वमा नयाँ कार्य समिति सर्वसम्मत तरीकाले चयन गरेको छ। चार वर्षका लागि चयन भएको उक्त कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा विष्णु शीतल, उपाध्यक्षत्रयमा टंक पन्त, किशोर सापकोटा र ददि सापकोटा, महासचिवमा दीपक रिजाल र सचिवमा आनन्द कोइराला रहेका छन्। त्यसै गरी रीता सापकोटा, कमल ढकाल, ध्रुब पौडेल, विष्णु शर्मा, डावा ढकाल, विनेश खनाल, विजय थापा र खेम भट्टचन कार्यसमितिको सदस्यमा चयन हुनुभएको जापानबाट पत्रकार रामचन्द्र राईले जानकारी दिएका छन् ।
यसअघि इन्जा डेका अवसरमा आयोजित अन्तरक्र्रियामा टोकियोस्थित नेपाली दूतावासका नियोग उपप्रमुख एवम् काउन्सुलर अम्बिकाप्रसाद जोशीले वस्तुनिष्ठ र सामाजिक उत्तरदायित्वका हिसावले सकरात्मक समाचार प्रवाह गर्न विदेशमा रहेका पत्रकारहरु सक्षम हुने विश्वास व्यक्त गरे।
इन्जा ग्लोबलका अध्यक्ष गुणराज लुइँटेलले व्यक्ति विशेषले कुनै लाभ प्राप्तिका लागि सामाजिक सञ्जालका माध्यमबाट प्रसारण गरेका सबै सामग्रीलाई पत्रकारिताका रुपमा बुझिदिँदा समाजमा द्विविधा उत्पन्न भएको बताउँदै सत्य तथ्यमा आधारित विषयबस्तु जनमानसमा सही तरिकाले पुर्याउन पत्रकारले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिए ।
सन् २०१८ मा मार्च १ तारिख स्थापना भएको इन्जाको अमेरिकामा मुख्यालय छ भने एशिया, यूरोप र अफ्रिकामा शाखा रहेका छन् ।