अमेरिकामा एक जना नेपाली भाषी भुटानी शरणार्थीले आफ्नै श्रीमतीको हत्या गरे पछि उनीहरुका तीन सन्तानको बिचल्ली भएको छ। अमेरिकाको क्युयाहोगा फल्स निवासी ३३ वर्षीया चन्द्रमाया पौडेलको उनकै श्रीमान जेम्स रिमालले हत्या गरेपछि उनीहरुका तीन सन्तानको बिचल्ली भएको हो।
उक्त दम्पती नेपालबाट गएका भुटानी शरणार्थी भएको स्थानीय संचार माध्यमहरुले जानकारी दिएका छन् । चन्द्रमाया पौडेल रिजालको हत्या आरोपमा प्रहरीले उनकै श्रीमान जेम्स रिजाललाई पक्राउ गरिसकेको छ। उनलाई समिट काउन्टी जेलमा राखिएको छ । आमाको हत्या र बुवा गिरफ्तार भएपछि उनीहरूका साना एक छोरा र दुई छोरीको बिजोग भएको छ।
आमाको मृत्यु र बाबु हिराशतमा परेपछि बालबालिकाहरुलाई समिट काउन्टी चिल्ड्रेन सर्भिसले जिम्मा लिएको र तीनजना बच्चाहरूलाई परिवारसँग राखेको प्रहरीले जनाएको छ । तर कस्को परिवारसँग राखिएको भन्नेबारे केही बताइएको छैन । कान्छी छोरी सन् २०२२ मा जन्मिएको र अहिले झण्डै १५ महिनाकी रहेको जनाइएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार चन्द्रमाया क्युयाहोगा फल्सस्थित घरबाट गत बुधबार बिहानदेखि बेपत्ता भएकी थिइन्। यसपछि उनका पति ३३ वर्षकै जेम्स रिमालले पत्नी (चन्द्रमाया) घरबाटै बेपत्ता भएको भनी यही फेब्रुअरी २१ मा प्रहरीमा जानकारी गराएका थिए।
खोजीका क्रममा गत मंगलबार बिहान चन्द्रमायाको शव मिडलबरी रोडको समिट मेट्रो पार्क फ्रिडम ट्रेलनजिकैको जंगलमा फेला परेको थियो। त्यही दिन प्रहरीले चन्द्रमायाका श्रीमान् रिमाललाई पक्राउ गरेको हो। रिमालविरुद्ध हत्या, घाँटी थिचेको, प्रमाणसँग छेडछाड गरेको, घरेलु हिंसा गरेको, प्रहरीलाई झुठो विवरण दिएको र शवको दुरुपयोग गरेको लगायत ६ वटा गम्भिर अभियोगहरु लगाइएको छ । घटनाबारे अनुसन्धान जारी छ।