खोटाङका दाहालको पोल्याण्डमा छुरा प्रहार गरी हत्या

खोटाङका दाहालको पोल्याण्डमा छुरा प्रहार गरी हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १५ फाल्गुन २०८०
  • 11K
    Shares

पोल्यान्डमा छुरा प्रहार गरी हत्या गरिएका खोटाङका राजेश दाहाल

पोखरा, १५ फागुन २०८०/

खोटाङका एक युवाको पोल्याण्डमा छुरा प्रहार गरी हत्या गरिएको छ। खोटाङको साकेला-१ घर भएका २९ वर्षीय राजेश दाहालको आफ्नै जर्जियन सहकर्मीले प्रहार गरी पोल्याण्डमा हत्या गरेका हुन्।

पोल्याण्डको सुप्सक सहरमा रहेको एक माछा कम्पनीमा कार्यरत ३५ वर्षीय जर्जियन नागरिकले दाहाललाई सँगै बस्ने होस्टलमा शनिबार राति ११ बजे छुरा प्रहार गरेका थिए। २०२३ को जनवरीमा वैदेशिक रोजगारीका सिलसिलामा पोल्याण्ड पुगेका दाहालको घटनास्थलमै मृत्यु भएको हो। मदिराले मातेका जर्जियन नागरिकले सामान्य विवादमा छुरा हानेका थिए।

राति ११ बजे छुरा प्रहारबाट ढलेका दाहालको शव प्रहरीको टोलीले आफ्नो प्रकृया पूरा गरी बिहान ४ बजे लिएर गएको दाहालसँगै काम गर्ने एक नेपालीलाई उदृत गर्दै एनआरएनए पोल्याण्डका सचिव उदयराज गिरीले जानकारी दिए। हत्यामा संलग्नसहित सहयोग गर्ने आक्रमणकारीको युक्रेनी श्रीमती र थप अर्की महिलालाई प्रहरीले गिरफ्तार गरेको छ।

मृतक दाहालको शव परीक्षणका लागि अस्पतालमा राखिएको र उनको निधनबारे परिवारलाई जानकारी गराइसकिएको गिरीले बताए।

दाहाल काम गर्ने कम्पनी सम्पर्कमा रहेको र शव नेपाल लैजाने वा पोल्याण्डमै दाहसंस्कार गर्नेबारे परिवारसँगको परामर्शपछि सहजीकरण गर्ने उनको भनाइ छ।

प्रतिक्रिया