पोखरा, २२ माघ २०८० /
एक हप्ता अवधिमा जापानमा तीन नेपालीको निधन भएको छ। एक हप्ता अवधिमा जापानमा धनकुटाको शहिदभूमि गाउँपालिका-७, साप्तिङटारका २२ वर्षीय रविन पौडेलसहित लमजुङको युवराज तामाङ, नुवाकोटको अनुज कार्कीको निधन भएको हो ।
तीन महिनाअघि अध्ययनका लागि जापान पुगेका धनकुटा जिल्लाको शहिदभूमि गाउँपालिका-७, साप्तिङटारका २२ वर्षीय रविन पौडेलको उपचारका क्रममा मिए युनिभर्सल हस्पिटलमा मृत्यु भएको हो।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् एशिया प्रान्त उपसंयोजक जापान निवासी दिपक केसीले ह्रदयघातका कारण मृत्यु भएको बताए। जापानस्थित मिए जापानिज भाषा स्कुलमा अध्ययन गरिरहेका उनी ४ जना साथीसँगै बस्दै आइरहेका थिए।
आइतबार बिहान जापानी समय अनुसार बिहान ३:५४ बजे पौडेललाई हृदयघात भएपछि उनीसँगै बसेका साथीले एम्बुलेन्स बोलाएर अस्पताल लगिएको थियो।
उपचारको क्रममा उनलाई जापानी समयअनुसार बिहान ४:४५ बजे मृत घोषणा गरेको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापान क्षेत्रीय समिति नागोयाका संयोजक भेषनाथ गौतमले जानकारी दिए। शव नेपाल पठाउनका विद्यालय र एनआएएनए जापानले प्रक्रिया अघि बढाएको छ। एनआरएनका सदस्यहरुले मृतक पौडेलको परिवार तथा आफन्तलाई सम्पर्क गरिरहेको संयोजक गौतमले बताए।
एक सातायता जापानमा तीन जना नेपाली युवकको मृत्यु भइसकेको छ। धनकुटाको पौडेलसहित लमजुङको युवराज तामाङ, नुवाकोटको अनुज कार्कीको मृत्यु भएको छ।
मानसिक रुपमा पूर्ण तयार नभई जापान प्रवेश गर्नु, सोचेको जापान र वास्तविक जापानमा भिन्नता पाउँदा, यहाँको प्रक्रियामा घुलमिल नसक्दा मानसिक तनाव भएर मृत्यु भएको हुनसक्ने धनकुटा घर भई हाल जापान बस्दै आइरहेका योमन देवानले बताए।