पोखरा, १९ माघ २०८० /
स्कटल्यान्डको एबर्डिनमा आगलागीमा परेर पोखरा घर भएका दुई दिदीबहिनीको मृत्यु भएको छ ।
पोखरा घर भई हाल एबर्डिनको ब्याक हिल्टन रोडमा बस्दै आएका करिब २८ वर्षकी आँचल सुवेदी र २४ वर्षकी शिक्षा सुवेदीको सोमबार साँझ भएको आगलागीमा परेर मृत्यु भएको हो ।
मृतकमध्ये दिदी आँचल इन्जिनियर थिइन् भने बहिनी शिक्षा आइटीकी विद्यार्थी थिइन् । सुवेदी दिदीबहिनी डा. यज्ञ सुवेदीको छोरीहरु हुन् ।डा. सुवेदी पोखरा विश्वविद्यालयका पूर्व प्राध्यापक पनि हुन् ।
उनीहरु बस्ने फ्ल्याट दोस्रो तलामा थियो भने सोही भवनको पहिलो तलामा साँझ ६ बजेको समयमा आगलागी सुरु भएको थियो।
आगलागी भएको थाहा पाउनेबित्तिकै हतार हतार तल झरेर बाहिरिन खोज्दा उनीहरु धुँवाको ठूलो मुस्लोमा निसास्सिएपछि भूईं तलाको ढोका खोल्न नपाउँदै बेहोस भएर ढलेका थिए।
आगो सुरु भएलगत्तै आएका अग्नीनियन्त्रकले भवनका उपल्लो तलाका अन्य फ्ल्याटमा रहेका मानिसहरुको सफल उद्धार गरे पनि भुईं तलामा बेहोस दिदीबहिनीको उद्धार हुन नपाइ मृत्यु भएको बताइएको छ ।