चीनको नयाँ रक्षामन्त्रीमा पूर्वनौसेना कमान्डर डोङ जुन नियुक्त

चीनको नयाँ रक्षामन्त्रीमा पूर्वनौसेना कमान्डर डोङ जुन नियुक्त


  • एजेन्सीहरु
  • शनिबार, १४ पुष २०८०
  • 2.6K
    Shares

Chinese new defense minister Dong Jun

चिनियाँ नयाँ रक्षा मन्त्रीका रुपमा पूर्वनौसेना कमान्डर ६२ वर्षीय डोङ जुन नियुक्त भएका छन्। शुक्रबार बेइजिङमा बसेको चिनियाँ राष्ट्रिय जनकांग्रेसको स्थायी समितिको बैठकले जुनलाई चीनको नयाँ रक्षामन्त्रीका रूपमा घोषणा गरेको हो ।

ली साङ्फुलाई बर्खास्त गरेको करिब दुई महिनापछि चीनले डोङ जुनलाई आफ्नो नयाँ रक्षामन्त्रीका रूपमा घोषणा गरेको बिभिन्न समाचार एजेन्सीहरुले समाचार लेखेका छन्। नवनियुक्त रक्षामन्त्री जुनलाई अगस्ट २०२१ मा नौसेनाको कमान्डर बनाइएको थियो।

डोङ जुनले चिनियाँ सेनाको दक्षिणी थिएटर कमान्डको उपकमान्डरका रूपमा काम गरेका छन् भने उनले दक्षिण चीन सागरजस्ता विवादित क्षेत्र पनि सम्हालेका छन्।

यस वर्षको सुरुमा देशका धेरै उच्च सैन्य अधिकारीहरूलाई बर्खास्त गरेपछि चीनले यो कदम उठाएको हो। यस वर्ष चीनले रक्षामन्त्रीबाट ली साङफुलाई हटाउनाका साथै किन ग्याङलाई पनि विदेशमन्त्री पदबाट हटाएको थियो। यी दुईलाई बर्खास्त गर्नुको कारण भने खुलाइएको छैन। दुवै जना सात महिना मात्र आफ्नो पदमा बस्न पाए।

यो साता पनि केही अधिकृतलाई बर्खास्त गरिएको छ। समाचार एजेन्सी रोयटर्सले चीनको सरकारी सञ्चारमाध्यम सिन्ह्वालाई उद्धृत गर्दै शुक्रबार स्थायी समितिबाट नौ वरिष्ठ सैन्य अधिकारीलाई हटाएको जनाएको छ।

चीनको सरकारी सञ्चारमाध्यमका अनुसार राज्यको स्वामित्वमा रहेको क्षेप्यास्त्र प्रतिरक्षा कम्पनीका तीन अधिकारीलाई पनि यस हप्ताको सुरुमा चीनको शीर्ष राजनीतिक सल्लाहकार निकायबाट हटाइएको छ।

प्रतिक्रिया