जापानका राजकुमार हिसाहितोलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ । कोभिड-१९ संक्रमणको बिहीबार गरिएको परीक्षणमा राजकुमार हिसाहितोलाई कोभिड-१९ संक्रमण पुष्टि भएको हो ।
राजकुमार हिसाहितो सम्राट नारुहितोका भतिजा हुन् र उनका पिता युवराज अकिशिनोपछि सिंहासनमा बस्ने दोस्रो व्यक्ति हुन् ।
इम्पेरियल हाउसहोल्ड एजेन्सीका अनुसार राजकुमारलाई बुधबार विद्यालयबाट घर फर्किएपछि ज्वरो आएको थियो । त्यतिबेला गरिएको एन्टिजेन परिक्षणमा नतिजा नकारात्मक आएको थियो ।
बिहीबार बिहान पुनः परीक्षण गर्दा राजकुमारमा कोरोना संक्रमण पुष्टि भएको हो । उनले सोमबारसम्म आराम गर्ने एजेन्सीका अधिकारीहरूले बताएका छन् ।
अधिकारीहरूका अनुसार उनका आमाबुवा, क्राउन प्रिन्स र राजकुमारी अकिशिनो दुवैको परीक्षण नेगेटिभ आएको छ ।