पूर्वी कङ्गोमा राष्ट्रसंघका बिरुद्ध ब्यापक विरोध प्रदर्शन : सरकारी दमनमा ४८ सर्वासाधारणको मृत्यु

पूर्वी कङ्गोमा राष्ट्रसंघका बिरुद्ध ब्यापक विरोध प्रदर्शन : सरकारी दमनमा ४८ सर्वासाधारणको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १५ भाद्र २०८०
  • 1.7K
    Shares

पूर्वी कङ्गोमा संयुक्त राष्ट्रसङ्घविरोधी प्रदर्शनमाथि भएको कारबाहीमा कम्तीमा ४८ जनाको मृत्यु भएको स्थानीय स्रोतलाइ उल्लेख गर्दै अन्तरराष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

गत बुधबार कङ्गोका सैनिकले गोमा शहरमा संयुक्त राष्ट्रसङ्घका शान्ति सैनिकविरुद्ध प्रदर्शन गर्ने योजना बनाएको धार्मिक सम्प्रदायमाथि आक्रमण गरेका थिए । त्यस क्रममा एक जना प्रहरी अधिकारीलाई एक सम्प्रदायका सदस्यहरूले नराम्रोसँग पिटेर हत्या गरेका थिए । सेनाको आन्तरिक दस्तावेजमा मारिने प्रहरीबाहेक ४८ जनाको मृत्यु भएको र ७५ जना घाइते भएको एएफपीको समाचारमा उल्लेख छ । उक्त आक्रमणका क्रममा धेरै धारिला हतियारहरू जफत गरेको र सम्प्रदायका नेता सहित एकसय ६८ जनालाई गिरफ्तार गरेको सैनिक अधिकारीहरूले बताएका छन् ।

कङ्गोको मानव अधिकार अधिकार समूह लुचाले पनि बिहीबार मारिएको प्रदर्शनकारीको सङ्ख्या ५० को हाराहारीमा रहेको जनाएको छ । बिहीबार सामाजिक सञ्जालमा प्रसारित दुई अपुष्ट भिडियोमा कङ्गोका सैनिकहरूले रगतले लतपतिएका मृत शरीरहरू सैन्य गाडीको पछाडि फ्याँकेको देखिन्छ ।

प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी भाग तीन दशकदेखि सशस्त्र लाडाकूको हिंसाको चपेटामा परेको छ, जुन सन् १९९० र सन् २००० को दशकमा भड्किएको क्षेत्रीय युद्धको विरासत हो ।

यस क्षेत्रमा संयुक्त राष्ट्रसङ्घको शान्ति मिसन विश्वको सबैभन्दा ठूलो र महँगो मध्ये एक हो, जसको वार्षिक बजेट लगभग एक अर्ब डलर छ ।

संयुक्त राष्ट्रसङ्घले मध्य अफ्रिकी राष्ट्रमा भएका हिंसातमक घटनाको कडा आलोचना गरिरहेको छ । यस क्षेत्रमा धेरै मानिसहरूले शान्ति सैनिकहरूलाई द्वन्द्व रोक्न असफल भएको ठान्छन् । एएफपी

प्रतिक्रिया