एमाले मौन बसेपछि संविधान संशोधनमा छलफल, नेमकिपाको नाराबाजी

एमाले मौन बसेपछि संविधान संशोधनमा छलफल, नेमकिपाको नाराबाजी


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १२ फाल्गुन २०७३
  • 6.2K
    Shares

संशोधन विधेयकविरुद्ध संसदमा नाराबाजी गर्दै नेमकिपाका सांसदहरु

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले मौन बसेपछि संविधान संशोधन विधेयकमाथि संसदमा सैद्धान्तिक छलफल भएको छ । बिहीबारको संसद बैठकले संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पास गरेको छ । अब विधेयकमाथि संशोधन हाल्न सांसदहरुका लागि ७२ घन्टे समय सुरु भएको छ ।

 

संशोधन विधेयकमाथि छलफल भइरहँदा नेमकिपाका सांसदहरुले भने नाराबाजी गरेका थिए ।

संशोधन राष्ट्रघाती भएको भन्दै संसदमा छलफल नै गर्न नदिने अडानमा रहेको एमाले केही लचिलो बनेर ‘एक दिनका लागि’ छलफल गर्न दिएको छ ।

संसद बैठक अघि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको थियो । सभामुख ओनसरी घर्तीको कार्यकक्षमा भएको वार्तामा संशोधनमाथि सैद्धान्तिक छलफल गर्न दिन एमाले सहमत भयो ।

दिउँसो संसद बैठक सुरु हुनासाथ ९ दलको तर्फबाट विशेष समय लिएर बोल्दै एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले ‘एक दिनका लागि’ संविधान संशोधन विधेयकमाथि छलफल गर्न दिने घोषणा गरे । छलफलमा आफूहरुले भाग नलिने र मौन बस्ने उनले बताए ।

तर, विपक्षी ९ दलीय मोर्चामा आवद्ध भएको नेमकिपाले नेम्वाङको घोषणा मानेन । कानुमन्त्री अजयशंकर नायकले संशोधन प्रस्ताव पेश गर्नासाथ नेमकिपाका सांसदहरुले ‘राष्ट्रघाती संशोधन फिर्ता गर’ भन्दै नाराबाजी गरे ।

प्रतिक्रिया