बेलायतको संसदीय रक्षा प्रतिवेदनले बेलायती सेना निकै कमजोर भएको स्विकारेको छ। युक्रेन र रूसबीच युद्ध भइरहेका वेला बेलायती सैन्य शक्ति कमजोर भएको सार्वजनिक भएको हो।
केही समयअघि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेलायतलाई केही महिनाअघि ‘एक मिनेटभन्दा कम समयमै ध्वस्त पार्ने’ धम्की दिएका थिए। रूसले बेलायतलाई पनि निशाना बनायो भने बेलायती सेना केही घण्टामै ध्वस्त हुने प्रतिवेदनले औंल्याएको छ।
रूस र चीन जस्ता देशहरूविरुद्ध लड्न बेलायती सशस्त्र बलको जति पनि हातहतियार र क्षमता नरहेको समेत प्रतिवेदनमा उल्लेख छ। रूसको उक्त चेतावनीसँगै बेलायती संसद्ले अप्रिल २०२३ मा सेनाको युद्ध तयारीबारे जाँचबुझ गर्न थालेको थियो।
प्रतिवेदनमा उल्लेख गरिएका तथ्य निकै गम्भीर भएको स्विकार्दै रक्षाविज्ञहरूले बेलायती प्रधानमन्त्री ऋषि सुनकलाई यसमाथि गम्भीर हुन माग गरेका छन्।
बेलायती सेनाका पूर्व वरिष्ठ जनरल सर रिचर्ड ब्यारन्सले रूससँग युद्ध भए बेलायत रुसविरुद्ध टिक्न नसक्ने बताउँछन्। उनले बेलायती सेनासँग पर्याप्त र प्रभावकारी हातहतियारसमेत नरहेको जानकारी दिएका छन्।
प्रतिवेदनमा बेलायती सेना पूर्णतया खोक्रो भइसकेको बताइएको छ। आधुनिकीकरण कार्यक्रमको नाममा दिइएको रकम निकै न्यून भएकाले सेना खोक्रो भइसकेको उल्लेख छ। प्रतिवेदनले बेलायती सेनाको सामरिक क्षमता कमजोर भएको तथ्य सार्वजनिक भएको छ।
बेलायती सेनासँग धेरै थोत्रा सैन्य उपकरण मात्रै रहेको खुलासा पनि भएको छ। तिनीहरूसँग आवश्यक हवाई र क्षेप्यास्त्र क्षमता, अपर्याप्त गोलाबारुद‚ तिनलाई सहयोग गर्ने यूनिटहरू, साथै हवाई यातायातका साधनको गम्भीर अभाव छ। हाउस अफ कमन्सको रक्षा समितिको यो प्रतिवेदनले सबैलाई तीतो भए पनि वास्तविक स्थिति स्विकार्न आग्रह गरेको छ।
नेटोका सदस्य भए पनि बेलायतसँग रूसको जस्तो ठूलो मात्रामा रक्षा सामग्री उत्पादन क्षमता छैन। समितिले बेलायती सेनासँग थिंक-ट्याङ्क‚ मानव सुरक्षा केन्द्रबाट यसलाई प्रमाणित गर्ने विभिन्न तथ्य समावेश गरेकोसमेत उल्लेख गरेको छ।
सेना अहिले सशस्त्र प्रहरीभन्दा पनि सामरिक क्षमतामा पिछडिएको उनीहरूको भनाइ छ। अहिलेकै स्थितमा क्षेप्यास्त्र वा ड्रोन आक्रमणको सामना गर्न पनि बेलायतलाई हम्मेहम्मे पर्ने देखिएको छ। बेलायती सेनाले प्रयोग गर्ने ट्याङ्कहरू सहित अधिकांश सशस्त्र सवारीसाधन ३० देखि ६० वर्ष पुराना छन्।
रूससँग युद्धको सम्भावित जोखिम यतिवेला बेलायतका लागि ठूलो चिन्ताको विषय बनेको छ। २५/३० हजार सैनिकलाई ट्याङ्क, तोपलगायत अस्त्र चलाउने र हेलिकप्टर उडाउने तथा युद्धको तालिम दिए पनि बेलायती सेना युद्धका लागि पूर्णतः तयार हुन ५ देखि १० वर्ष लाग्न सक्ने प्रतिवेदनले औंल्याएको छ।
अमेरिका, रूस, चीन र फ्रान्स जस्ता देशको सेना अत्याधुनिक हातहतियार र युद्ध लड्ने नयाँ विधि भएको टियर–१ श्रेणीमा आउँछ। जर्मनी वा इटालीको सेना जस्ता युद्ध लड्ने क्षमता कम भएका देशहरू टियर-२ मा पर्छन्। हाल बेलायत युद्ध लड्ने क्षमता र सामरिक शक्तिका हिसाबले टियर–२ मा पनि पर्दैन।
आफ्नो सेनाले नै युद्ध लड्नु परे पर्याप्त हतियार नभएको अवस्थामा बेलायतले उक्रेनलाई ठूलो संख्यामा हतियार आपूर्ति गर्ने वाचा गरेको छ। यो निकै दुःखद भएको पूर्व जनरलहरूले बताएका छन्। यस्तो अवस्थामा बेलायतले हतियार कसरी दिन्छ भन्ने बहस त्यहाँ शुरु भएका छन्।
रक्षा समितिलाई टाइप–२६ फ्रिगेट, एस्ट्युट क्लास पनडुब्बी र फ्लीट सोलिड सपोर्ट सिफ्ट कार्यक्रम जस्ता प्रमुख कार्यक्रममा ढिलाइ भएको बारे थिंक ट्याङ्कले जानकारी गराएको थियो।
बेलायती सेनामा पनि पनडुब्बी, हेलिकप्टर र जल सेनाको ठूलो अभाव रहेको प्रतिवेदनमा उल्लेख छ। युद्ध सामग्रीको अभावका कारण बेलायती सेनाहरू युद्धका लागि कुनै हालतमा तयार छैनन्। बेलायतको वायुसेना पूर्ण रूपमा लथालिंग छ।
रक्षा समितिको प्रतिवेदनअनुसार बेलायतको हवाई गस्ती गर्ने र हवाई प्रत्याक्रमण क्षमता शून्य छ। अर्थात् बेलायती वायुसेनासँग शत्रुको आक्रमणलाई जवाफ दिने स्रोत साधनसमेत छैन।
तालिम दिन पनि कठिन
आर्थिक अभावमा बेलायतका लागि आफ्ना सैनिकलाई सामरिक तालिम दिन र युद्धाभ्यास गराउन समेत कठिन हुँदै गएको छ। गत वर्ष केही सय सैनिकले मात्र यस्तो तालिम लिने मौका पाएका थिए। बेलायती सैनिकहरू राष्ट्रियस्तरको अभ्यासमा पनि सहभागी हुन पाएका छैनन्। सैनिकहरूको उच्चस्तरीय तालिम पनि हुन नसकेको प्रतिवेदनले उल्लेख गरेको छ।
रूसले उक्रेनसँग नभई पश्चिम (अमेरिका तथा उ समर्थक देश) र नेटोसँग युद्ध लडिरहेको युरोपेली संघले बताएको छ। यस्तो अवस्थामा युद्ध उक्रेन-रुसभन्दा बाहिर नफैलियोस् भनेर बेलायत चिन्तित छ।
युद्धको अवस्था आयो भने रूसी सेनाको अगाडि टिक्न सक्ने क्षमता पनि बेलायतसँग नभएको तथ्य यो प्रतिवेदनले छताछुल्ल पारेको छ। सामरिक रुपमा यतिवेला बेलायत शीतयुद्धको समयमा भन्दा पनि गएगुज्रेको अवस्थामा छ।
हाल बेलायती सेनामा जम्मा ७५ हजार ७१० सैनिक छन्। यो भनेको शीतयुद्धको समयको तुलनामा आधा हो।