पोखराको फेवातालमा पहिलोपटक हुन लागेको ‘ड्र्यागन बोट रेस फेस्टिभल’का लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी साउन ६ र ७ गते दुई एयरलाइन्सले चीनमा चार्टर्ड उडान गर्ने भएका छन्।
उनीहरूलाई ल्याउन हिमालय एयरलाइन्स र चाइना एयरलाइन्सले दुई दिन एक/एक वटा चार्टर्ड उडान गर्ने भएका हुन्। दुवैले चीनको छेन्दु सहरबाट पोखरामा चार्टर्ड उडान गर्ने पर्यटन सचिव सुरेश अधिकारीले जानकारी दिए।
दुई उडानमार्फत चीनबाट डेढ सयभन्दा बढी यात्रु/पर्यटक ल्याइने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बताएको छ। मन्त्रालयका सचिव अधिकारीका अनुसार यो फेस्टिभलमा डुंगाहरूको प्रतिस्पर्धा हुनेछ। यसका लागि चीनबाटै ८ वटा विशेष किसिमका डुंगा पनि ल्याइनेछ। यी डुंगामा ड्र्यागनको आकृति हुनेछ।
चीनमा ड्र्यागन बोट रेस फेस्टिभल एकदमै चर्चित र महत्वपूर्ण मानिन्छ। चिनियाँहरूले आफ्नो क्यालेन्डरअनुसार पाँचौं महिनाको पाँचौं दिनमा यो उत्सव मनाउँछन्। चीनमा ड्र्यागन डुंगा दौड प्रतियोगिताको इतिहास २५ सय वर्षभन्दा पुरानो रहेको मानिन्छ। यो दिनको धार्मिक तथा परम्परागत महत्व पनि उत्तिकै छ। यसले नकारात्मक ऊर्जा बाहिर फ्याँक्ने र सकारात्मक तथा स्वच्छ ऊर्जा शरीरभित्र प्रवेश गराउने जनविश्वास छ।
चीनले विशेष रूपमा मनाउने यही उत्सव यसपालि फेवातालमा पनि मनाइन लागिएको हो। दुई दिनसम्म चल्ने यो फेस्टिभल नेपाल र चीन सरकारको सहकार्यमा हुँदैछ।
‘दुवै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड उडान गर्न प्रस्ताव पनि गरेका छन्,’ अधिकारीले भने, ‘अब छिट्टै उडान अनुमति लिनेछन्।’
पोखरामा हुने ड्र्यागन बोट रेस फेस्टिभल र अन्तर्राष्ट्रिय चार्टर्ड उडानले आगामी दिनमा अन्य वायुसेवा कम्पनीलाई पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरू गर्न आकर्षित गर्ने उनले बताए।
हाल यो विमानस्थलबाट कुनै पनि अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन। चार्टर्ड उडानपछि अन्तर्राष्ट्रिय उडानका लागि विमानस्थल तयार छ भन्ने सन्देश पुग्ने उनको भनाइ छ।
अन्तर्राष्ट्रिय उडानका लागि हिमालय एयरलाइन्सले यसअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सफल अवतरण गरिसकेको छ। कम्पनीको न्यारोबडी एयरबस ए३२० नाइनएन–एएलभीले अंग्रेजी नयाँ वर्षको अवसर पारेर पोखरामा अवतरण गरेको थियो।
यो विमानस्थलबाट अब सिधै उडानका लागि सम्बन्धित वायुसेवा कम्पनीले सम्बन्धित मुलुकका नागरिक उड्डयन प्राधिकरणसँग अनुमति लिनेछन्। प्राधिकरणले अनुमति दिएपछि भने अन्तर्राष्ट्रिय उडान हुनेछ।
यो विमानस्थलबाट बुद्ध एयरले अन्तर्राष्ट्रिय उडान गर्ने योजना बनाएको थियो। आइतबार, मंगलबार, बिहीबार गरी सातामा तीन उडान गर्ने बुद्धको योजना थियो। यसका लागि विमानस्थल उद्घाटन भएलगत्तै उडान अनुमति समेत मागेको थियो। भारत सरकारबाट रूट र स्लट स्वीकृति हुनासाथ पोखरा–दिल्ली–पोखरा दैनिक दुई उडान र पोखरा–देहरादुन–पोखरा सातामा तीन उडान गर्ने गरी प्रक्रिया अगाडि बढाएको थियो।
तर भारतीय सरकारले स्वीकृति नदिँदा बुद्धले उडान सुरू गर्न सकेको छैन। करिब पाँच महिनादेखि बुद्ध एयर उडान अनुमतिको पर्खाइमै छ।
अब चार्टर्ड उडान भएपछि त्यसपछिका दिनमा भने नियमित उडानका लागि पनि विभिन्न मुलुकसँग जोडिँदै जाने सचिव अधिकारीले बताए। नियमित र चार्टर्ड उडानमा विभिन्न मुलुकसँग जोडिएपछि पोखराको समग्र पर्यटन व्यवसायमा टेवा पुर्याउने उनको भनाइ छ।
मित्रराष्ट्र चीनको एक्जिम बैंकको २२ अर्ब रूपैयाँ सहुलियतपूर्ण ऋण र अनुदान सहयोगमा यो विमानस्थल निर्माण गरिएको हो। सो रकममध्ये २५ प्रतिशत रकमको ब्याज नलाग्ने र बाँकीको वार्षिक दुई प्रतिशतले ब्याज रकम भुक्तानी गनुपर्ने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्राधिकरणले जनाएको छ।
२०३२ सालमा जमिन अधिग्रहण गरिए पनि चार दशकपछि, २०७३ सालमा विमानस्थलको शिलान्यास गरिएको थियो। २०७४ सालदेखि भने विमानस्थल निर्माण सुरू भएको थियो।
२०७९ पुस १७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विमानस्थल उद्घाटन गरेका हुन्। हाल यो विमानस्थलमा आन्तरिकतर्फको उडान भइरहे पनि अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन।