जापानमा बिहीबार एक जना आक्रमणकारीले दुई प्रहरीसहित तीन जनाको हत्या गरेका छन्। मध्य जापानको नागानोमा सैनिकको जस्तो लुगा लगाएको आक्रमणकारीले गोली हान्नेसँगै चक्कु घोपेर दुई प्रहरीसहित तीन जनाको हत्या गरेका जापानी सञ्चारमाध्यमहरूले जानकारी दिएका छन्। प्रहरीका अनुसार आक्रमणमा परी एक जना घाइते भएका छन्।
प्रहरीले ती पुरूष आक्रमणकारीको खोजी सुरू गरिसकेको बताएको छ। घटना भएको नाकानो क्षेत्रमा मानिसहरूलाई अत्यावश्यक नपरी घरबाट बाहिर ननिस्कन भनिएको छ।
जापानमा सर्वसाधारणले बन्दुक राख्न निकै कडा कानुनी व्यवस्था भएकाले गोलीकाण्ड बिरलै हुने गरेका छन्। बिहीबारको घटनामा संलग्न व्यक्तिले किन आक्रमण गरेका हुन् भन्ने खुलिसकेको छैन।