राप्रापा अध्यक्षमा कमल थापा बिजयी

राप्रापा अध्यक्षमा कमल थापा बिजयी


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ९ फाल्गुन २०७३
  • 10.5K
    Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा विजयी भएका छन्। अध्यक्षको लागि आज भएको चुनावमा निकटतम प्रतिद्वन्द्वी  प्रदीपविक्रम राणालाई भारी मतअन्तरले हराउँदै उनी विजयी भएका हुन्।

अध्यक्षमा विजयी थापाले २८०४ मत ल्याए भने उनका निकटम प्रतिद्वन्द्वी राणाले २५१ मत प्राप्त गरे। भृकुटीमण्डपमा जारी एकता महाधिवेशनमा मध्यान्ह १२ बजेबाट अध्यक्ष पदको लागि मतदान सुरु भएको थियो। अध्यक्षको लागि कुल ३ हजार १ सय ३६ मत खसेको थियो। खसेको मत मध्ये ८१ मत बदर भएको थियो।

 महाधिवेशनमा करिब ३३ सय मतदाता रहेको पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले बताए।

यसअघि पार्टीका राष्ट्रिय अध्यक्ष प्रकाशचन्द्र लोहनीले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका थिए। शीर्ष नेताहरुबीच भएको सहमतिलाई निरन्तरता दिन महाधिवेशन प्रतिनिधिहरुबाट चर्को दबाब आएपछि लोहनी पछि हटेका थिए।

निर्वाचित भए लगत्तै थापाले सम्बोधन गर्दै राप्रपालाई देशको अग्रणी शक्ति बनाउने घोषणा गरेका छन् । ‘राप्रपालाई देशकै अग्रणी शक्ति बनाउने घोषणा गर्दछु’ थापाले भने, ‘सबैलाई मिलाएर देशमा देखिएको राजनीतिक संकट समाधानका लागि पहल गर्ने विश्वास दिलाउन चाहन्छु ।’ थापाले आफूलाई बहुमूल्य मत दिएर विजयी गराउने सबैलाई धन्यवाद समेत दिएका छन्।

यता केन्द्रीय सदस्य पदमा तीन सय ६३ जनाको उम्मेदवारी परेको छ। यसको लागि मतदान भने मंगलबार हुने छ । केन्द्रमा मतदानबाट कुल ९८ सदस्य निर्वाचित हुनेछन्। जसमा खुल्लाबाट ४० जना निर्वाचित हुनेछन्। समावेशीतर्फ मधेशीबाट ७, आदिवासी जनजाति ९, उत्पीडित २, मुस्लिम २, कर्णाली १, थारु १,  प्रवास २ र पिछडिएको क्षेत्रबाट २ (महिला १, पुरुष १) केन्द्रीय सदस्य निर्वाचित हुनेछन्।

प्रतिक्रिया