खालिस्तानी पृथकतावादी नेता अमृतपाल सिंह भारतको पञ्जाबबाट पक्राउ परेका छन् । उनी मोगाको रोद गाउँबाट आइतबार बिहान पक्राउ परेको पञ्जाब प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको राष्ट्रिय सुरक्षा ऐन अनुसार उनलाई पञ्जाब प्रहरी र राष्ट्रिय अनुसन्धानको टोलीले पक्राउ गरेको हो ।
शिखहरूका लागि पञ्जाबमा छुट्टै देश ‘खालिस्तान’ बनाउने ‘वारिस पञ्जाब दे’ अभियानको नेतृत्व सिंहले गरिरहेका थिए । हिन्दुस्तान टाइम्सले प्रहरी स्रोतलाई उदृत गर्दै प्रकाशित गरेको समाचार अनुसार उनलाई आसामको दिब्रुगढ जेलमा पठाउने तयारी छ । त्यहाँ उनका अन्य सदस्यहरुलाई पहिले नै पक्राउ गरि राखिएको छ ।
गत चैत दोस्रो साता सिंह नेपालमा बसेको हुनसक्ने आशंका गर्दै काठमाडौंस्थित भारतीय दूतावासले नेपाल सरकारसँग उनलाई विदेश जाने अनुमति नदिन आग्रह गरेको थियो । उनी पञ्जावबाट नेपाल आएको दाबी दूतावासको थियो ।।
भारतीय दूतावासले परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागलाई पठाएको पत्रमा पञ्जाबबाट फरार भएका सिंहलाई नेपाल हुँदै तेस्रो मुलुक यात्रा गर्न सक्ने भन्दै अनुमति नदिन आग्रह गरेको थियो । पत्रमा सिंह नेपालमा लुकेर बसेको भन्दै नेपालबाट भाग्न खोजे पक्राउ गर्न आग्रह गरिएको थियो ।
सन् १९८० को दशकको अन्तिम र ९० को दशकको सुरुमा खालिस्तान पृथकतावादी आन्दोलन चरम रहेको थियो । भारतीय सुरक्षा निकायले दमन गरेपछि भारतभित्र उनीहरुको गतिविधि थिएन । विभिन्न देशमा भने पृथकतावादी अभियानका समर्थन रहेका थिए ।