चीनद्वारा भारतीय तीर्थ यात्रीलाई कैलाश मानसरोवर यात्रामा रोक

चीनद्वारा भारतीय तीर्थ यात्रीलाई कैलाश मानसरोवर यात्रामा रोक


  • जन संचार
  • आइतबार, १० बैशाख २०८०
  • 3.4K
    Shares

कैलाश मानसरोवर

चीनले भारतीय तीर्थ यात्रीलाई कैलाश मानसरोवर यात्रामा रोक लगाएको छ। कोभिड– १९ का कारण चीनले विदेशीलाई तिब्बत प्रवेशमा लगाएकोमा यस पालिदेखी भारतीय तीर्थ यात्रीलाई कैलाश मानसरोवर यात्रामा रोक लगाएको हो ।

चीनले भारतीयबाहेकका तीर्थयात्री तथा पदयात्रीका लागि कैलाश मानसरोवर यात्रा खुला गरेको छ। चीन सरकारले तिब्बतको राजधानी ल्हासा र नेपालको केरुङ नाकाबाट मात्रै कैलाश यात्रीलाई जाने अनुमति दिएको छ ।

भारतीयबाहेकका तीर्थयात्री तथा पदयात्रीको टोली आगामी साता कैलाश यात्राका लागि जाने तयारीमा छ । भारतीय तीर्थयात्रुले जान नपाएपछि आर्थिक रूपमा असर परेको कैलाश यात्राका नेपाली टुर अपरेटर व्यवसायी बताउँछन् ।

कैलाशको यात्रा गराउने पर्यटन व्यवसायीहरूको संस्था एसोसिएसन अफ कैलाश टुर अपरेटर्सका अध्यक्ष जितेन्द्र बस्नेतले, ‘भारत र चीनबीचको राजनीतिक विषयले गर्दा भारतीय यात्रुलाई चीनले अनुमति (परमिट) नदिएको’ बताए । दुवै देशले एक–अर्को नागरिकलाई पर्यटन भिसा नदिएको असर नेपालको पर्यटन क्षेत्रमा पनि परेको उनको बुझाइ छ ।

सम्बद्ध स्रोतका अनुसार कैलाश यात्रासम्बन्धी हेर्ने ल्हासाका चिनियाँ अधिकारी ली नाम गत साता काठमाडौं आउदा कैलाश यात्रा गराउने टुर अपरेटरसँग छलफल गरेका थिए । त्यस अवसरमा ती चिनियाँ अधिकारीले ‘भारतले चिनियाँ नागरिकलाई पर्यटक भिसा रोकेको” बताउदै भारतले सहज नगरेसम्म चीनले पनि भारतीयलाई कैलाश मानसरोवर जान नदिँने स्पस्ट बताएको उक्त छलफलमा सहभागी एक नेपाली टुर सञ्चालकले बताए ।

व्यवसायीका अनुसार नेपालबाट कोभिडभन्दा पहिला हरेक वर्ष नेपाली, भारतीय र अन्य मुलुकका गरी करिब २० हजार जना कैलाश मानसरोवर जाने गरेका थिए । नेपालगन्जबाट हुम्लाको हिल्सा भएर तिब्बतको ताक्लाकोट हुँदै एउटा रुट तथा रसुवागढीबाट केरुङ हुँदै कैलाश मानसरोवर जाने अर्को रुट कार्यान्वयनमा थियो । अहिले हुम्लाबाट जाने रुट चीनले खुला गरेको छैन ।

चीनको सुरक्षाका लागि तिब्बत संवेदनशील मानिन्छ भने कैलाश क्षेत्र तिब्बतको पनि अति संवेदनशील क्षेत्र मानिन्छ । भारतको उत्तरी सीमा लद्दाख तथा उत्तराखण्डसँग जोडिएको कैलाश क्षेत्रमा चीनले ठूलो संख्यामा सेना तथा सैन्य उपकरण तैनाथ गर्दै आएको छ ।

वेलावेलामा चिनियाँ र भारतीय सेनाबीच सीमा क्षेत्रमा हुने झडपका कारण भारत र चीन दुवै सीमा क्षेत्रमा सतर्क छन् । कैलाशलाई चीनले निषेधित क्षेत्र (रेस्ट्रिक्टेड जोन) घोषणा गरेको छ । चिनियाँ जनमुक्ति सेनाको नियन्त्रणमा रहेको कैलाशमा विदेशी नागरिकको यात्राको अनुमति तथा कानुनी बन्दोबस्त चीन सरकारको फरेन एक्सचेन्ज सेन्टरले मिलाउँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार