येशुलाई भेट्ने नाममा भोकभोकै बस्दा केन्यामा चार जनाको मृत्यु भएको छ। येशुलाई भेट्ने नाममा भोकभोकै बसेका केन्याको तटीय शहर मालिन्दीमा चार जनाको मृत्यु भएको हो।
रिपोर्टअनुसार यो ‘येशूलाई प्रत्यक्ष भेट्ने’ तरिकाको एक भाग हो भनेर बताइएपछि पीडितहरू भोक सहेरै त्यहाँ बसिरहेका थिए’। उनीहरूलाई यस किसिमको प्रचार गरी येशूलाई भेट्न विश्वास दिलाउने व्यक्ति गुड न्यूज इन्टरनेसनल चर्चका पास्टर थिए। उनलाई यसअघि पनि यस्तै अपराधमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उक्त क्षेत्रको एक निजी फार्ममा दर्जनौं मानिस येशुलाई भेट्ने नाममा भोकभोकै बसिरहेको सूचना प्राप्त भएपछि प्रहरी उद्धारका लागि त्यहाँ पुगेको प्रहरीले एक सुरक्षा रिपोर्टमा जनाएको छ। बिहीबार घटनास्थलको निरीक्षण गरेका सुरक्षा अधिकारीहरू केही घरधुरीमा पुग्न सफल भएका थिए र १५ जनालाई उद्धार गर्न सफल भएका थिए, जसमध्ये छ जनाको अवस्था गम्भीर थियो।
उद्धारपछि उनीहरूको उपचार सहयोग गर्न चिकित्सकलाई बोलाइएको थियो, तर यस क्रममा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
चर्चको भित्री सदस्य रहेका ती सूचनादाताले जंगलमा अज्ञात स्थानमा ३१ जनाको शव भेटिएको सामूहिक चिहानबारे प्रहरीलाई जानकारी गराएका थिए। अधिकारीहरूले तटीय क्षेत्रमा बढ्दो धार्मिक वेथितिको निन्दा गर्दै यस मुद्दालाई सम्बोधन गर्न गम्भीर ध्यान र प्रयासको लागि आह्वान गरेका छन्।