भारतको उत्तर प्रदेशमा प्रहरीले एक जना पूर्वसांसदका छोरालाई इन्काउन्टरमा मारिदिएको छ। बिहीबार उत्तर प्रदेशको झाँसीमा भएको इन्काउन्टरमा ग्याङस्टार अतिक अहमदका कान्छा छोरा असद अहमद र एक अर्का सार्पसुटर गुलाम मोहम्मदलगायत दुई जना मारिएका टाइम्स अफ इन्डियाले समाचार छापेको छ। आपराधिक गतिविधिबाट राजनीतिमा आएका अतिक सन् २००९ सम्म लोकसभाका सदस्य थिए।
उनीहरूलाई उत्तर प्रदेशका विधायक उमेश पालको हत्या गरेको आरोपमा प्रहरीले खोजी गरिरहेको थियो। उनीहरूको टाउकाको मूल्य ५ लाख भारू तोकिएको थियो। पालको गत फेब्रुअरीमा हत्या भएको थियो। आपराधिक गतिविधिमा संलग्न भएका अतिकका अरू दुई छोरा अहिले जेलमा छन्।