सोलुखुम्बुको खुम्बु–३ मा बाख्रापालनमा रोक, व्यवसायीको लाखौँ लगानी जोखिममा

सोलुखुम्बुको खुम्बु–३ मा बाख्रापालनमा रोक, व्यवसायीको लाखौँ लगानी जोखिममा


  • जन संचार
  • बिहिबार, ३० चैत्र २०७९
  • 3.1K
    Shares

सोलुखुम्बुको खुम्बु–३ मा बाख्रापालनमा रोक

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–३ मा व्यावसायिक बाख्रापालन गर्न रोक लगाइएको छ ।

कृषिसँग सम्बन्धित कार्यालयबाट अनुदान लिएका तथा गाउँपालिकामै बाख्रा पालन व्यवसाय दर्ता गराएका किसानलाई समेत बाख्रा पालनमा प्रतिबन्ध गरिएको छ । बाख्रापालन गर्दा दुर्गन्ध बढेको र यसले वातावरणमा प्रदूषण बढाएको तथा पशुहिंसा पनि निषेध गरिएको भन्दै वडा नम्बर–३ मा जनप्रतिनिधिकै रोहबरमा बाख्रा पालनमा रोक लगाउने निर्णय गरिएको हो ।

खुम्बु पासाङ ल्हामु गाउँपालिका–३ को कोङ्दे मध्यवर्ती क्षेत्र सामुदायिक वन उपभोक्ता समितिले वडाका जनप्रतिनिधिकै रोहबरमा वडा नम्बर ३ मा बाख्रा पालनमा प्रतिबन्ध लगाएको हो । चैत्र २ गते बसेको जनप्रतिनिधि, प्रहरी प्रशासन, स्थानीय समूहसहित बसेको सामुदायिक वनको बैठकले बाख्रापालनमा पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको वनले काटेको पत्रमा उल्लेख छ । यो निर्णयले न्यून आयस्तर भएका तथा खसी बाख्रा पालन गरेरै जीविकोपार्जन गर्नेलाई असर परेको बाख्रा पालन व्यवसायी सङ्घ सोलुखुम्बुका अध्यक्ष आङ काजी शेर्पाले बताए ।

वडा क्षेत्रमा कतिपय नागरिकको प्रमुख आर्यआर्जनको श्रोत नै बाख्रा पालन भए पनि जनप्रतिनिधिकै रोहबरमा गरिएको यो निर्णयले आफूहरुको हातमुख जोर्ने बाटो नै बन्द हुने स्थितिमा पुगेको किसानले गुनासो गरेका छन् । व्यवसाय गर्ने अधिकार नागरिकलाई हुने भएकाले व्यावसायिक अधिकार माथि हस्तक्षेप गर्न नहुने सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले बताए।

खुम्बु पासाङ ल्हामु गाउँपालिका–३ का वडाध्यक्ष नुरु जाङबु शेर्पाले आफ्नो वडामा मात्र नभइ पालिकाभर नै बाख्रा पालनमा प्रतिबन्ध लगाएको बताए । यसअघि सुँगुर पाल्न प्रतिबन्ध लगाएकाले तिनै किसानले बाख्रा पालन गर्न थालेपछि बोट बिरुवामा पुग्न सक्ने क्षतिलाई ध्यानमा राखेर वडाकै समन्वयमा सामुदायिक वनले बाख्रा पालनमा पनि रोक लगाएको उनले बताए ।

प्रतिक्रिया