एभरेष्ट बैंकको इटहरी शाखाका १९ जना बचतकर्ताहरू ठगिए : कहाँ गयो करोडभन्दा बढी रकम ?

एभरेष्ट बैंकको इटहरी शाखाका १९ जना बचतकर्ताहरू ठगिए : कहाँ गयो करोडभन्दा बढी रकम ?

अप्रेशन इन्चार्ज पक्राउ


  • जनसञ्चार अनलाइन
  • बिहिबार, ३० चैत्र २०७९
  • 4K
    Shares

एभरेष्ट बैंकको इटहरी शाखा, everest bank itahari

एभरेष्ट बैंकको इटहरी शाखाले सर्वसाधारणले बचत गरेको एक करोडभन्दा बढी रकम ठगी गरेको पाइएको छ।

एभरेष्ट बैंकको इटहरी शाखाका एक कर्मचारीले बैंकको विभिन्न शाखामा खाता खोलेका १९ जना बचतकर्ताहरूको करोडभन्दा बढी रकम ठगी गरेको पाइएको छ।

बैंक खातामा जम्मा गरेको रकम झिक्न जादा बैंक कर्मचारीले खातामा पैसा छैन भन्ने जानकारी दिएपछि बचत कर्ता ठगिएको खुलासा भएको हो।

एभरेष्ट बैंकको इटहरी शाखामा कार्यरत अप्रेशन इन्चार्ज विराटनगर महानगरपालिका–८ घर भएका निरज प्रधानले १९ जना बचतकर्ताहरूको रकम अन्य ग्राहकको खातामा ४५ पटक ट्रासफर गरी ठगी गरेको पाइएको छ।

स्याङजाकी रेखा गुरुङले आफ्नो खातामा जम्मा गरेको रकम नभेटिएपश्चात खोजी गर्दै जाँदा प्रधानले रकम ठगी गरेको पाइएको हो ।

शुरुमा एकजना ग्राहकको रकम हराएको घटना सार्वजनिक भएको थियो। पछि अनुसन्धान गर्दै जादा बैंकबाट ठगिने ग्राहकको संख्या १९ पुगेको छ। ग्राहकहरूको बयानको आधारमा एक करोडभन्दा बढी रकम ठगी गरेको पाइएको खुलेको हो।

अप्रेशन इन्चार्ज प्रधानले आफूले चिनेजानेकाहरूको फोटो र नागरिकताको फोटोकपी मागेर एभरेष्ट बैंकमा ३२ जनाको खाता खोलेर १९ ग्राहकको रकम ट्रान्सफर गरेको बताइएको छ।

बैंकका अप्रेशन इन्चार्ज निरज प्रधानले १९ जना ग्राहकको एक करोडभन्दा बढी रकम अन्य ग्राहकको खातामा पठाएर ठगी गरेको सुनसरी प्रहरीले जनाएको छ ।

प्रहरी कार्यालय सुनसरीका डीएसपी राजकुमार राईले ग्राहकहरूले बचत गरेको रकम ठगी गरेको उजुरीका आधारमा प्रधानलाई पक्राउ गरी उच्च अदालत विराटनगरबाट म्याद थप गरी घटनाको अनुसन्धान थालिएको जानकारी दिए।

उजुरीकर्ता एभरेष्ट बैंक र ठगीमा परेका बचतकर्ताको बयान लिएर विस्तृत अनुसन्धानको काम भइरहेको डीएसपी राईले बताएका छन्। उनले रकम जम्म्मा भएको ३२ खातावालालाई पनि अनुसन्धानको दायरामा ल्याउने बताए।

प्रतिक्रिया