थापालाई सर्वसम्मत अध्यक्ष बनाउने सहमति तोडियो, लोहनीद्वारा उम्मेदवारी घोषणा

थापालाई सर्वसम्मत अध्यक्ष बनाउने सहमति तोडियो, लोहनीद्वारा उम्मेदवारी घोषणा


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ६ फाल्गुन २०७३
  • 10K
    Shares

डा. प्रकाशचन्द्र लोहनी

कमल थापालाई सर्वसम्मतीबाट अध्यक्ष बनाउने सहमति तोड्दै राष्ट्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले उम्मेदवारी घोषणा गरेका छन्।  एकतन्त्रिय पद्धतिबाट पार्टीलाई कब्जा गर्न खोजिएको भन्दै लोहनीले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका हुन्।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी लोहनीले पार्टीको चुनावी चिन्ह र शक्ति सन्तुलनमा गम्भीर असन्तुष्टि राख्दै अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका हुन्। बुधबार साँझ लोक बहादुर चन्द्रको निवासमा भएको सहमति अनुसार पार्टी चल्ने नदेखेपछि आफूले उम्मेद्वारी दिएको बताए। उपाध्यक्ष र महामन्त्री कम्तिमा दुईजना निर्वाचित हुनुपर्ने र कार्यकर्ताको मतको सम्मान गर्नुपर्ने उनले बताए।

डा. लोहोनीले भने,‘पहिले चुनावी चिन्ह हलो हुनेछ भनेर सहमति गरियो, आज आएर एकलौटी रुपमा चिन्ह र शक्ति सन्तुलनको विषयलाई वेवास्ता गर्दै अघि जान खोजिएको छ, यसमा मेरो गम्भिर असन्तुष्टि छ, पहिलेको सहमति नमान्ने र पछिल्लो सहमति मात्रै मान्नुपर्छ भन्ने हुन्छ? यस्तो एकतन्त्रिय पार्टीको निमार्ण राप्रपाका लाखौ कार्यकर्ताले चाहेका छैनन् ।’

उनले भने,‘अहिलेको पार्टीको विधान अनुसार कार्यकर्ताहरू कसैको हनुमान भएर बस्नुपर्ने हुन सक्छ, पुरानो सहमति पनि कार्यन्वयन हुनुपर्छ, आधा पदाधिकारीहरू निर्वाचन प्रक्रियाबाट चुनिनुपर्छ भन्ने मेरो माग हो। पार्टीको नयाँ विधानमा सबै सदस्य मनोनितको व्यवस्था छ, त्यसैले पनि कमल थापालाई अध्यक्ष बनाउने सहमतिको कुनै अर्थ छैन।’

डा. लोहनीले भने,‘अहिले पार्टी एकता होईन पार्टी विलयजस्तो भएको छ, हामी त्यस्तो हुन दिदैनौँ, हजारौ कार्यकर्ताको उत्साहलाई मर्न दिने छैनौ, यूवाहरूलाई स्थान दिनुपर्छ, प्रजातिन्त्रक रुपमा पार्टीलाई अघि बढाउने र भोलि पार्टी टुटफुटबाट बचाउनलाई पनि मेरो उम्मेदारी हो, महाधिवेशनमा मेरो जित सुनिश्चित छ।’

तत्कालीन राप्रपा र राप्रपा नेपालबीच गत मंसिर ६ गते पार्टीको एकता भएको भने एकताको महाधिवेशन आजदेखि राजधानीमा सुरु हुँदैछ।

प्रतिक्रिया