साउदी अरेबियाको रियादमा अलपत्र परेका२४ जना नेपाली ४ महिनापछि स्वदेश फिर्ता भएका छन् ।
रोजगारीका क्रममा साउदीको दुरत अलनखिल होटल नामक कम्पनीमा क्लिनर र वेटरको रूपमा काम गर्न पुगेका उनीहरूले आवश्यक सेवा सुविधा र सम्झौता अनुसार काम नपाएर अलपत्र परेका थिए। उद्दारको लागि अन्नपूर्णकर्मी, नेपाली दूतावास, लगायत विभिन्न निकायलाई अनुरोध गरेका थिए ।
काठमाडौंमा रहेको पिजन एचआर सोलुसन मेनपावरबाट २१ अक्टोबर २०२१ मा साउदी जान उनीहरूले प्रतिव्यक्ति १ लाख पचास हजारदेखि २ लाखसम्म मेनपावर सञ्चालक विष्णु सापकोटालाई बुझाएका थिए । आफूहरु अलपत्र परेको सुचना नेपाली दूतावास रियादमा १४ नोभेम्बर २०२२ का दिन जानकारी दिएका थिए । अलपत्र परेका समाचार अन्नपूर्ण पोस्टले १२ माघ २०७९ मा प्रकाशित गरेको थियो।
दूतावासमका अनुसार पिजन मेनपावरले कामदार माग प्रमाणीकरणमा २ वर्ष भिसा भनी डकुमेन्ट संकलन गरेको थियो। तर, मेनपावरले नेपालबाट भिजिट भिसा जारी गरेको पाइनुको साथै भिसा स्टामिङमा टेम्पोररी भिसा लेखिएता पनि वैदेशिक रोजगार विभागले कामदार भिषा भनी श्रम स्वीकृति दिएको थियो ।
भिजिट भिसा ३ अथवा ६ महिनाको भएता पनि कम्पनीले १ वर्षसम्म वर्किङ भिसा भनी काममा लगाएको थियो। साउदीको नियमअनुसार भिजिट भिसामा साउदी आउने जो कसैको पनि अकामा कार्ड नबन्ने नियम रहेको छ । जसले गर्दा उनीहरु इलिगल समेत भएका थिए ।
स्वदेश फिर्ता हुनेहरुमा चितवनका सुरज जिसी, दाङका प्रमोद चौधरी, पाल्पाका जितबहादुर सार्की, रुपैन्देहीका प्रदीप पोखरेल, लमजुङका मिलन राना मगर, सिन्धुपाल्चोकका सोनाम खोले, राजेश सुवेदी, चितवनका प्रकाश गुरुङ, प्युठानका रुमबहादुर घर्ती मगर, मकवानपुरका शम्भू घिसिङ, गुल्मीका सुरज नेपाली छन्। त्यस्तै, अर्घाखाँचीका सन्दीप श्रेष्ठ, गुल्मीका अर्जुन क्षेत्री, अर्घाखाँचीका राजकुमार श्रेष्ठ, रोल्पाका निरन घर्ती मगर, पाल्पाका शेरबहादुर थापा, बर्दियाका जोगेन्द्र नगरकोटी, दाङका दिनेश चौधरी, सुशिल पुन मगर, झापाका बालकृष्ण रिजाल, रूपन्देहीका बलबहादुर खत्री, कास्कीका राजन दरलामी मगर, पाल्पाका विष्णु नेपाली, पर्वतका रमेश सुनार गरी २४ जना रहेका छन्।