सोमबार काठमाण्डौको बालाजुमा भएको आन्दोलनका क्रममा बालाजु प्रहरी प्रमुख नायब उपरीक्षक (डीएसपी) रविन विष्ट जिम्मेवारीबाट हटाइएका छन् ।
यातायात व्यवसायीको आन्दोलनका कारण सोमबार सिर्जना भएको तनावपछि डीएसपी विष्ट चढ्ने बा २ झ १४४ नम्बरको गाडी तोडफोड र आगजनी भएको थियो । बालाजु प्रहरीको बा १ झ ७२२४ नम्बरको गाडी पनि तोडफोड भएको थियो ।
ट्राफिक प्रहरीले जरिवाना बढाएको भन्दै भएको प्रदर्शनले उग्र रुप लिँदा बसपार्क, माछापोखरी लगायतका क्षेत्रमा तोडफोड र आगजनी भएको थियो । बसपार्कमा भिडले मोबाइल पसलमा छिरेर लुटपाट समेत गरेको थियो । घटनाबारे प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको छ ।
घटनापछि उपत्यका प्रहरी कार्यालयले देखिएको आवश्यकता अनुसार सुरक्षा व्यवस्था मजबुत बनाउन उनको ठाउँमा डीएसपी मनोजित कुँवरलाई पठाइएको सम्बन्धित स्रोतले बताएको छ ।