सरकारसँग ६ बुँदे सहमति भएपछि चिकित्सकहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेर काममा फर्किएका छन् । सरकार र चिकित्सक संघबीच ६ बुदे सहमति भएपछि आन्दोलन फिर्ता गरेर चिकित्सकहरु काममा फर्किएका हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गणेशप्रसाद पाण्डेय र नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की संयोजक रहेको दुवैतर्फका वार्ता टोलीबीच सहमति भएको हो ।
सहमतिपछि जारी विज्ञप्तिमा घाइते चिकित्सकको उपचार व्यवस्था सरकारले मिलाउने, चिकित्सकमाथि कुटपिट गर्ने सुरक्षाकर्मीलाई निलम्बन गरी छानबिन सुरू गरिसकिएकाले एक साताभित्र छानबिन सकेर दोषीलाई कारबाही गर्ने उल्लेख छ । साथै ‘विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७’ मा गर्नुपर्ने परिमार्जनबारे एक साताभित्र सुझाव पेश गर्ने पनि सहमति गरिएको छ ।
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (संशोधनसहित ) ऐन, २०६६ बमोजिम स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी व्यवस्थालाई प्रभावकारी कार्यान्वयन र स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको सुरक्षालाई थप प्रभावकारी बनाउन आवश्यक व्यवस्थामा पनि जोड दिइएको छ ।
यस्तो छ वार्ता टोलीबीच भएको सहमति :

यही माघ २७ गते ट्रमा सेन्टरका एक चिकित्सकलाई प्रहरीले घाइते बनाएको विरोधमा नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प गर्ने निर्णय गरेको थियो । लगत्तै आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरकारी प्रतिनिधि र चिकित्सकहरुबीच वार्ता भएको थियो ।