सिक्किमका नेपाली समुदायलाई विदेशी मूलका भनी लेखिएको अंश भारतको सर्वोच्च अदालतले बुधबार हटाएको छ।
सर्वोच्चले सुरूको रिट निवेदनमा उक्त शब्द त्यसरी नै उल्लेख भएकाले फैसलामा पनि समावेश हुन पुगेको बताएको छ।
सर्वोच्चको फैसलामा यस्तो लेखिएपछि सिक्किममा नेपाली भाषी समुदायद्वारा यसको तीव्र विरोध भएको थियो। त्यहाँको नेपाली समुदायले प्रदर्शनसहित सिक्किम बन्दको समेत आह्वान गरेका थिए।
सिक्किम सरकारले सर्वोच्चको फैसलाको उक्त अंश पुनरावलोकन गर्न निवेदन दिएको थियो। पश्चिम बंगालको दार्जिलिङसहितका क्षेत्रमा पनि नेपाली समुदायले विरोध र प्रदर्शन गरेका थिए।
सन् १९७५ मा भारतमा विलय भएको सिक्किममा नेपालीभाषीको जनसंख्या उल्लेख्य छ। सिक्किममा अहिलेसम्म बनेका ६ जना मुख्यमन्त्रीमध्ये ५ जना नेपाली समुदायका छन्।