दाङमा जनयुद्धका तीन शहिदका शालिक तोडफोड : चौतर्फी बिरोध

दाङमा जनयुद्धका तीन शहिदका शालिक तोडफोड : चौतर्फी बिरोध


  • जन संचार
  • आइतबार, २२ माघ २०७९
  • 13.4K
    Shares

दाङको घोराही उपमहानगरपालिका–१४ झिंगौरा टोलस्थित मनकामना सामुदायिक वनमा राखिएको जनयुद्धका क्रममा शहादत प्राप्त गरेका झिंगौराका तीनजना शहीदहरुको शालिक तोडफोड भएको छ।

तीन वटै शालिकका घाँटीदेखि माथिको भाग छिनालिएका छन्। दुई वटा शालिकका टाउको अलग पारिएकोमा एउटा शालिकको टाउको अन्यत्र फालिएको अवस्थामा भेटिएको छ।

दाङमा शहिदका सालिकको घाँटी छिनाइएको, तीन मध्ये एक टाउको गायब
दाङमा शहिदका सालिकको घाँटी छिनाइएको, तीन मध्ये एक टाउको गायब

प्रहरीले घटना शुक्रबार साँझ सात बजेतिरको भएको हुनुपर्ने अनुमान गरेको छ। घटनामा संलग्नताको खोजी र अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी राजन गौतमले बताए। डिएसपी गौतमले शालिक तोडफोड भएको क्षेत्र वरिपरी दुर्व्यसनीले प्रयोग गर्ने सिरिन्ज लगाएतका सामाग्री फेला परेको जानकारी दिए । घटनाबारे अनुसन्धान जारी रहे पनि त्यो घटना आवेगमा आएर कुनै ब्यक्ति बिषेशले गरेको हो वा कुनै समूहले योजनाबद्ध रूपमा गरेको हो? भन्ने बारेमा अनुसन्धान जारी रहेको डिएसपी गौतमले बताए।

सालिक रहेको क्षेत्र खुला रहेको , तारबार नगरिएको तथा निगरानी गर्ने कुनै निकाय नभएको हुँदा तोडफोड कसले कुन उद्धेश्यले गरेको हो? भन्ने अनुसन्धान पछि मात्रै खुल्ने प्रहरीले बताएको छ।

घटना सार्वजनिक भएपछि घोराही–१४ का वडाध्यक्ष भानसिंह बुढा, वडा प्रहरी कार्यालय घोराहीका प्रमुख गजेन्द्र शाही, टोल विकास संस्थाका पदाधिकारी, वडाका पूर्वजनप्रतिनिधि, वन समूहका पदाधिकारी लगायतको उपस्थितिमा प्रहरीले मुचुल्का उठाएको छ ।

आन्दोलनका क्रममा ज्यान गुमाएका ओमभक्त चौधरी (विजय), लौटन चौधरी, पृथ्वी चौधरीको शालिक २०७८ चैत २४ गते पूर्वसभामुख कृष्णबहादुर महराले अनावरण गरेका थिए । यसैबीच शहिदका शालिक तोडफोड घटनाको चौतर्फी विरोध भएको छ ।

नेकपा माओवादी केन्द्रका जिल्ला सचिव विश्वराज आचार्यले योजनाबद्ध र सुनियोजित रूपमा परिवर्तन विरोधी तत्वले शहिदहरुका शालिक तोडफोड गरेको टिप्पणी गरे । उनले स्थानीय प्रसाशनले घटनामा संलग्न ब्यक्तिको पहिचान गरि कानुनी कारबाही दायरामा ल्याउन माग गरे ।

प्रतिक्रिया