‘सम्पूर्ण उद्योगी व्यवसायी एवं पीडित एक हौं’ भन्दै चर्को ब्याजविरुद्ध तीनदिने अनसन शुरु गरिएको छ । सरकारको विभेदपूर्ण आर्थिक नीतिविरुद्ध पहिलो चरणको रिले अनसन थालिएको व्यवसायीले बताएका छन् ।
बैंकले प्रदान गर्ने कर्जाको ब्याजदर एक अंकमा झारिनुपर्ने, कम्तीमा दुईवर्षलाई स्वेच्छिक किस्ता छनोट गर्न दिनुपर्ने, कालोधनविरुद्ध नोटबन्दी गरिनुपर्ने, व्यावसायिक सुरक्षाका लागि संक्रमणकालीन योजना ल्याउनुपर्ने, स्वर्गीय प्रेमप्रसाद आचार्य लगायतका व्यवसायीले उठाएका माग सम्बोधन हुनुपर्ने र अनुदान रकम पारदर्शी हुनुपर्ने माग व्यवसायीको छ ।
देशभरि नै विभिन्न आर्थिक दबाबका कारण आत्महत्या गर्ने क्रम बढिरहेको अवस्थामा लौरो अभियानको सहजीकरणमा गठित संयुक्त संघर्ष समितिले प्रथम चरणको अनसन चिप्लेढुंगाको मानवअधिकार चोकमा शुरु गरेको हो । सरोकारवाला तथा सरकारले माग सम्बोधन नगरे अझ सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्ने संघर्ष समिति संयोजक खेम तिमिल्सिनाले जानकारी दिए ।
यसैगरी, पोखरा हार्डवयर एसोसिएसन कास्कीले एक अपिल जारी गरी नगदी र मुनाफासहितको कारोबार गर्न सम्बन्धित व्यवसायीलाई आग्रह गरेको छ । संस्थाका अध्यक्ष पृथ्वीराज शर्मा तिमिल्सिना र महासचिव कृष्णप्रसाद कोइरालाले जारी गरेको अपिलमा आर्थिक संकट र चर्को ब्याजदरका बीच पनि लागत भन्दा कम मूल्य र त्यो पनि उधारोमा कारोबार गर्ने गरेको सुन्नमा आएको जनाउँदै व्यावसायिक संकट र व्यवसाय बन्दबाट जोगिन आग्रह गरिएको छ ।