भ्रस्टाचार उन्मुलन गरेर सुशासनयुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ् गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीका संघीय सांसद ढाकाकुमार श्रेष्ठले आफु साथी किसान कृषि सहकारी संस्थाको अध्यक्ष हुँदा करोडौं रुपियाँ हिनामिना गरेको आरोप लगाइएको छ।
उक्त सहकारी संस्था तीन हप्तादेखि बन्द छ । दैनिक खर्च धान्न नसकेको सहकारीले बचतकर्तालाई पैसा फिर्ता पनि गर्न सकेको छैन । बचतकर्ताले जम्मा गरेको बचत निकाल्न जाँदा उल्टै धम्क्याउन थालेपछि सहकारी विरुद्ध बचतकर्ताले पोखरा महानगरको सहकारी शाखामा उजुरी दिएका छन् ।
पीडितहरूले पैसा माग्दा सहकारी नेतृत्वले अघिल्लो कार्यसमितिलाई देखाउने र अघिल्लोले हालको कार्यसमितिलाई देखाउन थाले पछि पिडितहरु पोखरा महानगरको शरणमा पुगेका हुन्।
सांसद श्रेष्ठ अध्यक्षमा हुँदाका बखत नै सहकारी डुब्न थालेपछि कार्यबहाक अध्यक्ष दिएर चोखिएको आरोप अरूहरूको छ । उनी अध्यक्ष हुँदा नै लाखौं पैसा हिनामिना भएको सहकारीका तत्कालीन व्यवस्थापक विशाल बस्ताकोटी बताउँछन् । उनले आफूले नेतृत्व गर्दा अर्को सहकारीमा काम गर्नेसँग पैसा सापटी गरेर ग्राहकको समस्या समाधान गर्ने गरेको सुनाए ।
‘सरले दिनदिनै तपाईं म्यानेजर भएपछि पैसा ल्याउनुस् भन्नुहुन्थ्यो । तर, मैले सहकारीको दैनिक हिसाब, किताब हेरिरहेको म्यानेजमेन्ट पढिरहेको विद्यार्थीले त्यहाँको ब्यालेन्स सिट हेर्दा नोक्सानमा रहेको थाहा थियो,’ बस्ताकोटीले भने, ‘मलाई घरबाट पैसा ल्याएर चलाउन भनिन्थ्यो । मैले ‘ढाका सर’ लाई मात्र दोष दिन खोजको होइन त्यो पुरै समिति दोषी छ । उहाँले आफ्नो मिनिमार्केटका लागि ४ लाख केही पैसा लिनुभएको थियो । त्यो दिनुपर्ने थियो । टिमका मान्छेलाई फोन हान्यो कोही पनि आउनुहुन्थेन । घरमै जाँदा पनि भेटिनुहुन्थेन । अनि मैले घरको पैसा बासँग मागेर ल्याउने हो र यहाँ ?’
सांसद श्रेष्ठ भन्दै थिए, ‘म निर्दोष छु । मैले संस्थाबाट नाफा हुँदै र राम्रो अवस्थामा हुँदै छाडेको थिएँ । देशको समस्या समाधान गर्न सांसद भएँ । अहिले मलाई नै आक्षेप लगाइयो ।’
अध्यक्षबाट हट्दै गर्दा नयाँ कार्यसमितिलाई हिसाब नबुझाई जिम्मेवारीबाट पन्छिएको बिहीबार हालको कार्यसमितिले श्रेष्ठलाई आरोप लगाएको थियो । तर, शुक्रबार त्यो आरोप वर्तमान अध्यक्ष डा. शनि पाठकले परिवर्तन गरेका छन् । अध्यक्ष पाठकले भने, ‘पुरानो कार्यसमिति भन्दै बसेको थिएँ । उहाँलाई टार्गेट गर्न खोजिएको होइन । उहाँले सम्पूर्ण जिम्मेवारी नसुम्पिसकेकाले उहाँकै जिम्मेवारी बुझ्दै आयौँ । तर, यस्तो रैनछ आज क्लियर भयो । उहाँले पहिलै कमिटीलाई स्पष्ट पार्दिनुभएको भए यस्तो समस्या आउने थिएन ।’ तर, समस्या आउनुको कारण के हो ?, कसले गर्दा सहकारी यस्तो अवस्थामा पुग्यो । कसरी बचतकर्ता ठगिए ? अब सहकारीले के गर्छ ? र अब कसरी उपभोक्तालाई पैसा फिर्ता गर्छ ? भन्ने कुरामा पाठकले उत्तर दिएनन् । निवर्तमान अध्यक्ष र वर्तमान अध्यक्षले यति मात्र भने अब उपभोक्ताले ३ महिनाभित्र पैसा पाउँछन् ।
आफ्नो नाम जोडिएपछि सांसद श्रेष्ठले शुक्रबार पत्रकार सम्मेलन गरेर आफ्नो बचाउ गर्ने प्रयास गरे । ‘मलाई जोडेर समाचार आएपछि सुत्न नसकेर राति नै पोखरा आएँ । बिहानै सहकारीमा मिटिङ बोलाएँ । समस्याको बारेमा पत्ता लगाउने प्रयास गरेको छु । मेडिकल डाक्टर भए पनि कृषिलाई राम्रो बनाउनुपर्छ भनेर म आफैले सुरु गरेको सहकारी हो,’ उनले भने, ‘कतिपय गल्ती मैले नजान्दा नजान्दा गरेको पनि होलान् । एउटा काम बझबुजारत गर्नुपर्ने रहिछ त्यो गरेको बाँकी रहिछ । त्यो गर्नुपर्छ भन्ने मलाई थाहा पनि थिएन । अधिवेशन गरेर अडिट रिपोर्ट प्रतिवेदन पास भएपछि मेरो कार्यकाल सकियो भन्ने मलाई लाग्यो । तर, अहिलेको कार्यसमितिले उहाँकै कार्यकाल सकिएको छैन भन्ने सोच्नुभएको रहिछ यस कारण आज मैले सबै हिसाब किताब दिएको छु ।’ सांसदले श्रेष्ठले सहकारीले ८२ लाख रुपैयाँ बचतकर्तालाई पैसा दिन बाँकी भएको बताए ।
सांसद श्रेष्ठ भन्दै थिए, ‘म निर्दोष छु । मैले संस्थाबाट नाफा हुँदै र राम्रो अवस्थामा हुँदै छाडेको थिएँ । देशको समस्या समाधान गर्न सांसद भएँ । अहिले मलाई नै आक्षेप लगाइयो ।’
कात्तिक ९ गते सहकारीको २० औँ साधारण सभाले डा. शनि पाठकको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । यसको केही दिनमै सहकारी बन्द भएको हो । यसपछि ग्राहकले महानगरमा उजुरी दिएका थिए । सहकारीले कुखुरा पालन तथा मासु व्यवसाय मार्फत सहकारी सञ्चालन गर्दै आइरहेको थियो किसानलाई दाना, हुर्केका कुखुरा खरिद गरेर बिक्री काम गर्छ । तर, व्यवस्थापन गतिलो नहुँदा सहकारी सटर लागेर बस्नुपरेको संस्थापक सेयर सदस्य बताउँछन् । ‘एउटा बैठक बस्नुपर्दा घरघर खोज्न जानुपर्ने थियो । अनि कसरी यस्तो हुन्छ । सुरुवाती चरणदेखि नै संस्था नाफामा छैन । व्यक्तिगत स्वार्थबाहेक उहाँ उपभोक्ताको हितका लागि केही भएको छैन,’ नाम नबताउने सर्तमा ती सेयर सदस्यले भने । उनले आफूले हालेको पैसा पनि आस मारिसकेको सुनाए । तर, कुखुरा खरिदबिक्रीबाट प्राप्त हुनुपर्ने ९९ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना भइसकेको र त्यसको कुनै पनि बिल भर्पाइ नदेखिएको स्रोत बताउँछ ।