मान्छे मारे पछि भारतले नियन्त्रणमा लिएर बानी सुधार्न दुधुवा नेशनल पार्कमा छाडेको नरभक्षी बाघ गाउँमा पसेर आतंक मच्चाउन थाले पछि नेपाल-भारत सीमाका जनता त्रसित बनेका छन्।
प्राप्त जानकारी अनुसार, केही दिन अगाडि भारतको सम्पूर्णनगर नजिक रहेको मरौचा गाउँका एक १५ वर्षीय किशोरलाई बाघले मारेको थियो । त्यसपछि बाघ नरभक्षी भएको भन्दै भारतीय अधिकारीले सो बाघलाई सुध्रिनका लागि रेडियो कलर जडान गरेर दुधुवा नेशनल पार्कको सलुखापुर क्षेत्रमा छोडेका थिए । तर त्यो नरभक्षी बाघ कैलालीको कैलारी गाउँपालिका–७, ५ स्थित बसन्ता करीडोर आसपासका गाउँमा देखिन थाले पछि स्थानीय बासिन्दा त्रसित बनेका छन्।
स्थानीयका अनुसार गर्दनमा ‘बेल्ट’ जस्तो बाँधिएको बाघ केहि दिनदेखि गाउँ, खेततिर बरालिएको देखिने गरेको छ । बाघको गर्दनमा बेल्ट बाँधिएको जस्तो देखिएको चिज सम्वतः ‘रेडियो कलर’ जडान गरिएको हुनुपर्छ । मान्छे मारे पछि भारतीय अधिकारीहरुले नियन्त्रणमा लिएर बानी सुधार्न दुधुवा नेशनल पार्कमा छाडेको त्यही नरभक्षी बाघ नेपाल-भारत सिमकाका गाउँहरुमा बरालिएको हुनसक्ने ठानिएको छ।
कैलारी गाउँपालिका–७ का खेमराज चौधरीका अनुसार तीन दिन अगाडिमात्रै सोही वडाको विपतपुरस्थित वन र कटैनी नदीको क्षेत्रमा दिनभरि बाघ देखा परेको थियो । यसैगरी, बसन्तास्थित उखुबारीमा पनि बाघ पुगेको बताइएको छ । ‘बसन्ता वन क्षेत्र नजिक बाघले एउटा छाडा गाई पनि मारेको थियो’, चौधरीले भने । खेत जाने क्रममा केही मान्छे झन्डै बाघसंगको जम्काभेटबाट जोगिएको जनाइएको छ । गहुँ सिँचाइका लागि खेतमा जाने क्रममा बाघ देखिएको थियो । उनीहरुले हो हल्ला गरेपछि बाघले अन्यत्र गएको बताइएको छ । दुई दिन अगाडिमात्रै पलिया गाउँमा पनि बाघ देखिएको कुलराज चौधरीले जानकारी दिए ।
बाघको त्रास बढेपछि साँझ पर्ने बित्तिक्कै बसन्ता, रामपुर, भुईयाँफाँटा, बैजपुर, विपतपुर, तिघरी लगायतका गाउँ सुनसान हुने गरेको स्थानीयले बताएका छन् । ‘साँझ विहान बाघ देखा पर्न थालेपछि मान्छे त्रसित छन’, उनले भने,‘जङ्गलमा घाँस दाउरा गर्न जानेहरु सतर्क रहन आवश्यक छ ।’
गाउँतिर बरालिदैं गरेको देखिएको बाघ भारतको दुधुवा नेशनल पार्कबाट आएको स्थानीयले बताएका छन् । बाघ बसन्ता करीडोर आसपासका गाउँमामात्रै नभइ भारतको सीमावर्ती गाउँतिर पनि त्यो बाघ देखा परेको छ । सीमामवर्ती भारतीय गाउँ बेलापरसुवाका लल्लन कठरियाले आफ्नो गाउँको आसपास क्षेत्रमा पनि स्थानीयले बाघ देखेको बताए । उनका अनुसार केही दिन अगाडि भारतको सम्पूर्णनगर नजिक रहेको मरौचा गाउँका एक १५ वर्षीय किशोरलाई बाघले मारेको थियो । त्यसपछि बाघ नरभक्षी भएको भन्दै भारतीय अधिकारीले सो बाघलाई सुध्रिनका लागि रेडियो कलर जडान गरेर दुधुवा नेशनल पार्कको सलुखापुर क्षेत्रमा छोडेका थिए ।
‘तर, त्यो बाघ दुधुवामा नबसी गाउँतिर आइरहेको छ’, कठरियाले भने,‘अहिले गाउँतिर देखा परिरहेको बाघ सम्भवतः त्यहि नरभक्षी बाघ हो ।’ दुधुवा छोडिएको बाघ गाउँतिर आउन थालेपछि दुधुवा नेशनल आसपासका भारतीय गाउँमा पनि त्रास बढेको उनले जानकारी दिए । ‘यहाँ पनि गाउँ नजिकै खेतमा आएर गाईलाई मारेर खाएको छ’, कठरियाले भने ।.
बाघ देखापरिरहेको क्षेत्र र दुधुवा नेशनल पार्कबीचको दूरी थोरै छ । यो क्षेत्रमा बर्सेनि जङ्गली हात्तीले पनि स्थानीयका घर, खेतबारीमा नोक्सान गर्दै आएका छन् ।