वनभोजमा शिक्षकहरुले यौन दुर्ब्यबहार गरेपछि कारबाहीको माग राख्दै विद्यार्थीहरुद्वारा प्रदर्शन

वनभोजमा शिक्षकहरुले यौन दुर्ब्यबहार गरेपछि कारबाहीको माग राख्दै विद्यार्थीहरुद्वारा प्रदर्शन


  • जन संचार
  • मंगलबार, १२ पुष २०७९
  • 15.1K
    Shares

नवलपुरको गैंडाकोट नगरपालिका–८ करङघारी स्थित विजय आधारभूत विद्यालयका बिद्यार्थीहरुले आफूहरुलाई तीन जना शिक्षकहरुले यौन दुर्ब्यबहार गरेको भन्दै प्रदर्शनमा उत्रिएका छन् ।

बिद्यालयका प्रध्यानाध्यापक कुष्ण सापकोटा, शिक्षक मदन भट्टराई, कुमार सापकोटाले आफूहरुलाई यौन दुर्ब्यबहार गरेको भन्दै कडा भन्दा कडा कानूनी कारबाहीको माग राखेर बिद्यार्थीहरुले इलाका प्रहरी कार्यालय गैँडाकोट अगाडी प्रदर्शनमा उत्रिएका हुन् ।

शिक्षकले मादक पदार्थ सेवन गरी विद्यार्थीमाथि यौन दुर्ब्यबहार गरेको विद्यार्थीहरुकोे आरोप छ । ७ कक्षामा अध्ययनरत १३ वर्षीय छात्राले भनिन्, ‘पूर्व चितवनको कंकाली डाँडामा वनभोज गएका थियौं । ५ कक्षा देखि ८ कक्षासम्मका थियौं । पिकनिक स्पोर्ट पुगे देखि सरहरुले रक्सी खानु भएको थियो । दिउँसो हामी खेलिरहेको ठाउँमा आएर कम्मरमा हात राख्ने, कस्सेर समाउने गर्नुभएको थियो । बसमा घर आउने बेलामा झन् नराम्रोसँग छुने, समाउने गर्न थाले । ’

पीडित एक बालिकाले सम्वेदनशिल अंगहरुमा शिक्षकहरुले छोएको बताइन् । भक्कानिँदै भनिन्, ‘सरले प्राइभेट अंगहरुमा हात लग्नुभयो । छाती दबाउनुभयो । म रोए । केटा साथीहरुलाई डराउदै सुनाए । त्यसपछि बसमा सबै मिलेर हामीलाई सुरक्षित पार्ने कोसिस गरे । आफूहरुलाई सुरक्षित राख्दा छात्र विद्यार्थीहरुले कुटाई खानु परेको उनले बताइन् ।

विद्यार्थी मात्र नभएर शिक्षिका माथि पनि शिक्षकले यौन दुर्ब्यबहार गरेको प्रत्यक्षदर्शी छात्रको भनाइ छ । हाम्रो साथीमात्र होइन म्यामहरु पनि पर्नुभएको छ । यिनीहरुलाई बसमा भन्दा स्कुलमै गएर तह लगाउनु पर्छ भनेपछि हामी चुप लागेका हौं । बसमा भएको दुर्ब्यबहारको भिडियो रेकर्ड समेत विद्यार्थीले गरेका छन् ।

पीडित बालिकाहरु घरआउनासाथ रुन थाले पछि घटना बारे अभिभावकले थाहा भएका हुन् । पीडित बालिकाकी दिदी तामाङ भन्छिन्, ‘बिहान खुसी हँुदै गएको बच्चा साझ रुदै बसबाट झ¥यो । म पनि आत्तिदै के भयो भन्दै सोधे । घटना सुने पछि रिस थाम्न नै सकिन । छरछिमेकबाट पिकनिक गएका नानीहरुको अभिभावकलाई पनि सोधे मेरो बैनी परेको होइन रैछ ।’

अर्का अभिभावक तिमल्सिनाले न्याय पाउने आश कम रहेको बताए । सो वडाका वडाध्यक्ष प्रेम सापकोटाको भतिजो समेत आरोपित भएकाले न्याय नपाउने गुनासो उनको थियो । यस्तै केही शिक्षिकाले घटनालाई बाहिर नल्याउन दबाब दिएको विद्यार्थीको भनाइ छ । सहप्रध्यानाध्यापक सरस्वती पाण्डे र शिक्षिका हरिकला सिग्देलले टियुसन कक्षामा स्कुलको इज्जत जान्छ भन्दै घटना लुकाउन दबाब दिएको उनीहरुले बताए । पुस ९ गते शनिबार शिक्षक शिक्षिकासँग विद्यार्थी वनभोज खान गएका थिए । घटनाभएको एक दिन पछि आन्दोलन भएको हो । आइतबार क्रिसमस भएकोले स्कुलमै सबै आरोपितलाई समाउन एक दिन कुरेको अभिभावकहरुको भनाइ छ ।

तीन जना आरोपित अहिले प्रहरीको नियन्त्रणमा रहेको प्रहरी प्रमुख प्रशान्त श्रेष्ठले जानकारी दिए । घटनाको विषयमा अनुसन्धान भइरहेको उनको भनाइ छ । पीडितको परिवारबाट जाहेरी आउन भने बाँकी रहेको श्रेष्ठले बताए । पीडित पक्षले भने स्थानीय जनप्रतिनिधिको दबाबमा घटनाको उजुरी अगाडि नबढ्ने आशंका व्यक्त गरेका छन् ।

प्रतिक्रिया