डोटीको जोरायल क्षेत्रमा भएको बन फडानीको बिषयमा समाचारहरु प्रकाशित भएपछि सेक्टर बन कार्यालय बुडरका ईन्चार्ज सहायक बन अधिकृत सुरेशचन्द्र डिसीले पत्रकारहरुलाई धम्की दिएका छन् । उनको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघले आपत्ती जनाउँदै कारबाही गर्न माग गरेको छ ।
जोरायल क्षेत्रमा व्यापक बन फडानी भएको समाचार बिभिन्न सञ्चारमाध्यममा प्रकाशन तथा प्रसारण भएपछि सहायक बन अधिकृत डिसीलाई क्षेत्रीय बन निर्देशनालयमा झिकाई छानबिन सुरु भएको छ । त्यसबाट अत्तालिएका डिसीले आफ्नो फेसबुक स्टाटस लेखेका छन् र ढाड खुस्काइदिने धम्की दिएका छन् ।

डिसीले लेखेका छन्, ‘तिमीहरु जे सक्छौं गर, तर दोषीलाई निर्दोष र निर्दोषलाई दोषी प्रमाणित गर्ने काम नगर नत्र कलम भाँचिन सक्छ, ढाड खुस्काइन सक्छ ।’ उनले आफू रोल्पामा जन्मेको र दाङमा हुर्केको कुरा बुझ्नु पर्ने समेत आफ्नो स्टाटसमा उल्लेख गरेका छन् ।
कारबाही गर्न पत्रकार महासंघको माग
सो धम्कीप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै नेपाल पत्रकार महासंघ डोटी शाखाले शनिबार बिज्ञप्ती जारी गरेर डिसीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेको छ । महासंघको बिज्ञप्तीमा भनिएको छ ‘प्रेस स्वतन्त्रतालाई मजाक सम्झने अधिकृत डिसीको अशोभनीय, घृणित कार्यप्रति महासंघ खेद प्रकट गर्दछ ।’
पत्रकारका कलम भाँच्ने र ढाड खुस्काउने जस्ता अभिव्यक्ति दिईनु लोकतन्त्रप्रतिकै उपहास भएको बिज्ञप्तीमा उल्लेख छ । जिल्ला शाखा अध्यक्ष मिन बमद्वारा जारी बिज्ञप्तीमा यस्ता व्यक्तिहरुलाई तत्काल गिरफ्तार गरी कडाभन्दा कडा कारवाही गर्न महासंघले बिज्ञप्तीमार्फत सरकारसंग माग गरिएको छ ।
यस्तो छ नेपाल पत्रकार महासंघको विज्ञप्ति
