सुन्दर हरिजनको मृत्यु प्रकरण : जघन्य अपराधका शाहलाई छुटाएर हरिजनलाई सजाय भुक्तान गर्न लगाइएको ठहर, बन्यो फेरी अर्को छानबिन समिति

सुन्दर हरिजनको मृत्यु प्रकरण : जघन्य अपराधका शाहलाई छुटाएर हरिजनलाई सजाय भुक्तान गर्न लगाइएको ठहर, बन्यो फेरी अर्को छानबिन समिति


  • जन संचार
  • बुधबार, १८ जेष्ठ २०७९
  • 6.9K
    Shares

रोल्पा कारागारमा मृत भेटिएका नेपालगन्ज उपमहानगर– २ घरवारी टोलका सुन्दर हरिजनको मृत्यु सम्बन्धमा छानबिन गर्न गठित समितिले प्रतिबेदन बुझाएको भोलिपल्ट मंगलबार सरकारले फेरी अर्को छानबिन समिति बनाएको छ।

बालक हरिजनको मृत्यु सम्बन्धमा कारागार ब्यबस्थापन विभागले जेठ ६ गते मंगलबार विभागका निर्देशक झरेन्द्र प्रसाद चापागाईंको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो। सो समितिले हरिजनको मृत्यु आत्महत्याबाटै भएको देखिएको भए पनि नाबालक रहेकै अवस्थामा उनलाई कारागार पठाइएको र जघन्य अपराधमा मुछिएका सुर्खेतका विजयविक्रम शाहलाई छुटाएर हरिजनलाई शाहको सजाय भुक्तान गर्न लगाइएको पाइएको ठहर गरेको छ।

यता शाह जेलबाट हरिजनको नाममा भागेको तर उनको सजाय हरिजनले नै भोग्दै गरेको पाइएको प्रतिबेदन आएपछि त्यस सम्बन्धमा छानबिन गर्न गृह मन्त्रालयले मन्त्रालयका सहसचिव सूर्यप्रसाद सेढाईँको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । गृह मन्त्रीस्तरीय निर्णयबाट गठित समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको मन्त्रालयका सूचना अधिकारी वसन्त भट्टराईले जानकारी दिए ।

समितिमा मन्त्रालयका उपसचिव झंकनाथ ढकाल, नेपाल प्रहरीका उपरीक्षक भूपेन्द्र खत्री, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक विश्वमणि आचार्य र जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत सदस्य रहेका छन् ।

पछिल्लो प्राप्त अर्को एक जानकारी अनुसार, बाँकेको नेपालगन्ज–२ स्थित घरवारीटोलका सुन्दर हरिजनको परिवारले मंगलबार डाहसंस्कारका लागि शब बुझेका छन्। परिवारले रोल्पा कारागारमा हरिजनको शंकास्पद मृत्यु भएको भन्दै दाहसंस्कार गर्न मानेका थिएनन् ।

हरिजनको शव नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा राखिएको थियो । घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही नहुँदासम्म शवको अन्त्येष्टि नगर्ने मृतकका परिवार तथा आफन्तले अडान राख्दै आएका थिए ।

विजय विक्रमको नाममा सजाय काटिरहेका सुन्दर जेठ ४ गते रोल्पा कारागारको शौचालयभित्र झुण्डिएको अवस्थामा फेला परेपछि घटनाले रहस्यमय बन्दै गएको थियो ।

प्रतिक्रिया