जनतासंग गरेका वाचा-कसम बिर्सिएर गरिएका उम्मेदवारी दर्ता, ब्यापक आचारसंहिता उल्लङ्घन र बागी उम्मेदवारहरु

जनतासंग गरेका वाचा-कसम बिर्सिएर गरिएका उम्मेदवारी दर्ता, ब्यापक आचारसंहिता उल्लङ्घन र बागी उम्मेदवारहरु


  • जन संचार
  • मंगलबार, १३ बैशाख २०७९
  • 6.8K
    Shares

२०७४ सालको स्थानीय तहको चुनाबमा नेपाली जनताले नेकपा एमालेलाई झन्डै दुई-तिहाइ स्थानमा बिजयी गराए। न्याय, सुख र शान्ति पाउने नेपाली जनताको आश त्यसै मारेर गएको जस्तो भयो। निश्चित वर्ग, ठेकेदार, सामन्त र पार्टीका नेता कार्यकर्ता मात्र हाबी भए।

त्यसपछि भएको संघ र प्रदेश स्तरको चुनाबमा त झन् नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर डबल नेकपा बनाएर चुनाब लडे। त्यसमा पनि उनीहरुको झन्डै दुई-तिहाई बहुमत आयो। अब त साच्चिकै नेपाली जनताले बिकास र सम्वृद्धि पाछां कि भन्ने धेरैको आशा र भरोसा थियो। त्यसपछी त सत्तारुढ डबल नेकपाका नेता तथा कार्यकर्तामा बजयाको उन्माद चढ्न थाल्यो। उनीहरुले अरु पार्टीका नेता र कार्यकर्तालाई त देखि सहेनन। देशमा भ्रस्टाचार, अनियमितता, बेथिति, अन्याय र अत्याचारले संस्थागत मान्यता पाए जस्तै भयो। देशलाई आर्थिक संकट र उधो गतिमा पार्ने गरी मोज गरिरहेका डबल नेकपाका नेता कार्यकर्ता हुँदा हुँदा एकापसमा निहित स्वार्थका लागि लड्न थाले। आखिर उनीहरु संगै बस्न नसक्ने भएपछी विभाजित भए।

एमाले र माओवादी केन्द्र जुटेर डबल नेकपा बनेको थियो। तर फुट्दा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी भएर तीन वटा कम्युनिष्ट पार्टी बने। त्यसै बिचमा पनि प्रधानमन्त्री बनेका एमाले अध्यक्ष केपी शर्मा ओलीले जनताद्वारा निर्मित संबिधान नै मासेर प्रतिगमनको बाटी अपनाउन लागेको भन्दै सबै राजनीतिक दलहरु ओली बिरुद्ध खनिए।

ओलीबिरुद्ध खनिएका सम्पूर्ण राजनीतिक दलहरुले प्रतिगमंबिरोधी मोर्चा बनाएर संघर्ष गरे र अब आगामी संघीय चुनाबसम्म एकजुट भएर ओलीबिरुद्ध चुनाब लड्ने घोषणा पनि गरे। पटक पटक प्रधानमन्त्री बनेका ओली उनीविरुद्ध लागेका नेताहरुलाई राजनीतिक मर्यादा बिर्सिएर गाली गलौजमा उत्रिरहेका छन्। उनले गरेका हरेक भाषणहरु ठट्यौली र उरन्ठेउला हुने गरेका छन्। इनले उठाएका कुराहरु ठिक हुन् सक्छन, तर सब उनको भाषण गर्ने पारा हेर्दा हावा गफ जस्तो हुने गरेको छ।

ओलीले जति गाली गरे पनि उनी बिरुद्ध लागेका नेता तथा कार्यकर्ताहरु कहिल्यै सुध्रिने बाटो तिर लागेनन। सबैजसो राजनीतिक पार्टीका नेता तथा कार्यकर्ताहरु संबिधान र कानून उल्लङ्घन गर्दा ठुलो भइन्छ भन्ने मानसिकताबाट ग्रस्ती रहे। राजनीतिक दलहरुले पालै पालो राज्यका स्थायी संरचानाहरुमाथि आक्रमण गरिरहे। राज्यको स्थायी संरचना मध्येको एक कर्मचारी संयन्त्र राज्नितिकर्ण गरेर ध्वस्त पारे। प्रहरी-प्रशासनमा राजनीतिक हस्तक्षेप गरेर त्यस संस्थाप्रति बिस्वास गुम्ने हो कि भन्ने अवस्थामा पुर्याएका छन्। जनताको बिस्वास र भरोसाको अन्तिम निकाय अदालतमा राजनीतिक दलहरुले
हस्तक्षेप गरेर बिबादित बनाइ दिएका छन्। अदालत अहिले अर्ध-मुर्छित अवस्थामा पुगेको जस्तो अनुभूति नेपाली जनताले गरिरहेका छन्। यस्तो अवस्थामा राजनीतिक पार्टीहरुले गएको चुनाबमा गरेका वाचा कसम र घोषणापत्रलाई बिर्सिएका छन्।

यसबीचमा जनताद्वारा चुनिएको भनिएका जनप्रतिनिधिको चार वर्षे कार्यकाल पुरा भएको छ। नयाँ जनप्रतिनिधि चयनका लागि यही बैशाख ३० गते चुनाब हुँदैछ। त्यसका लागि सोमाबर उम्मेदवारी दर्ता पनि भएको छ। उम्मेदवारी दर्ता प्रक्रियामा पनि सबैले बिगतका वाचा बन्धन बिर्सिए र आचारसंहिता उल्लङ्घन गर्नु हाम्रो अधिकार नै हो भने जसरी मनपरी पाराले प्रस्तुत भए।

ओली बिरुद्ध गठबन्धन बनाएका वर्तमान सत्तारुढ गठबन्धनले तालमेल गरेर सोमबार पोखरामा संयुक्त उम्मेदवार दर्ता गर्न सकेनन। उनीहरुले जनभावना अनुरुपको उम्मेदवार खडा गर्न नसकेकोमा जनअसन्तुस्टी कायमै छ।

मेयर वा प्रमुख पदमा बागी उम्मेदवारी

उच्च मनोबल र स्वच्छ छबि भएका व्यक्तिलाई उम्मेद्वार बनाउनुपर्ने चुनाबी आचारसंहिता छ। नेकपा एमालेले पोखरा महानगरपालिकामा मेयर पदमा उठाएका दिपक पौडेललाई एक दशक अघि सुन चोरी गर्दै गरेको भिडियो सार्वजनिक भएपछि अर्को उमेदवार खडा गरी उम्मेदवारी दर्ता गरिएको छ। पोखरा उपमाहानागरापलिकाका पुर्व मेयर एबम गण्डकी प्रदेश सभाका सांसद कृष्ण थापालाई एमालेले पोखरा महानगरको मेयर पदमा उम्मेदवार बनाएको छ। उम्मेद्वारी खोसिएका नेता पौडेलले आफूविरुद्ध नियोजित तरीकाले षड्यन्त्र गरिएको र नचाइदो र भ्रमपूर्ण फन्डा मच्चाइएको आरोप लगाइएका छन्। आफ्नै पार्टीका नेताविरुद्ध आफ्नै पार्टीका अर्का थरि नेताले यस्तो फन्डा मच्चाउनु के सही हो त ? फेरी पनि एमालेले गलत उम्मेदवार उठायो भन्नेहरुको कमी छैन। सामाजिक संजाल र सार्वजनिक समाचारहरुमा त मेयर पदका उम्मेदवार कृष्ण थापालाई जातीय छुवाछुतमा संलग्न भनी दोष लगाइएको छ। तर उनले यस्बारेमा अहिलेसम्म केही बोलेका छैनन्।

पटक पटक अनिच्छा प्रकट गर्दा गर्दै उपमेयर पदमा एमालेले अहिलेकै उपमेयर मन्जु देवी गुरुङलाई उम्मेदवार बनाएको छ। के एमालेमा अर्को योग्य उम्मेदवार नभएर मंजुदेबी गुरुन्लाई जबरजस्ती उपमेयर बनाइएको हो ? झन्डै एक दशक अघि छोरीको बिहेमा किनेको औंठी चोरी भएको भनेर भिडियो सार्वजनिक गर्ने कार्यमा एमालेभित्रकै नेताहरुको हात रहेको धेरैको भनाई छ।

आगामी संघको चुनाबसम्म चुनाबी गठबन्धन गर्ने कसम खाएका वर्तमान सत्तारुढ गठबन्धनले पोखरा महानगरपालिकामा एकीकृत समाजवादीका नेता धनराज आचार्यलाई उम्मेदवार बनाएका छन्। तर सत्तारुढ दल नेपाली कांग्रेसका तीन जना उम्मेदवारहरुले बागी उम्मेदवारका रुपमा मेयर पदमा उम्मेद्वारी दर्ता गराएका छन्। बिगतमा लामो समयसम्म पार्टीका बिभिन्न पदमा रहेर काम गरिसकेका कांग्रेसी नेताहरु नन्दु तिवारी, ऋषी काफ्ले र बिमल बहादुर कार्कीले स्वतन्त्र उम्मेदवारका रुपमा बागी उम्मेदवार बनेका छन्।

बिगतमा राज्यविरुद्ध संघर्ष गरेर पटक पटक जेल र नेल खाएका बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता किशानसिङ्ग गुरुङ र नेकपा (समाजवादी)का नेता भोजराज त्रिपाठीले पनि पोखराको मेयर पदमा उम्मेद्वारी दर्ता गराएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट शंकर खराल, नेपालका लागि नेपाली पार्टीकी रोशनी बानियाँ बस्नेत, सचेत नेपाली पार्टीबाट भोजराज खनाल, मौलिक जरोकिलो पार्टीका एन्जल तिमिल्सीना, मंगोल नेशनल अर्गनाइजेसनबाट प्रेमप्रसाद गुरुङ, नेपाल जनता दलबाट मुक्तिनाथ सुवेदी, आमूल परिवर्तन पार्टीबाट मुना बानियाँले उम्मेदवारी दिएका छन् । त्यस्तै जनमत पार्टीबाट शरणसिंह मोक्तान, देशभक्त समाजबाट नरबहादुर दमै,संघीय राष्ट्रिय लोकतान्त्रिक मञ्चबाट अनिलकुमार राई, उन्नत लोकतन्त्र पार्टीबाट आशिष् थापाले पनि उम्मेद्वारी दर्ता गराएका छन्।

अटेरी अभियानबाट गनेस पौडेल, विमलबहादुर कार्की, रामराज अधिकारी, डिलबहादुर गुरुङ, नवराज बास्तोलाले भने स्वतन्त्र उम्मेदवारका रुपमा उम्मेद्वारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

बाटो छेकेर उम्मेदवारी दर्ता गर्न बन्चित

यता कास्की जिल्लाको रुपा गाउपालिकामा नेपाली कांग्रेसका तर्फबाट पार्टीले तय गरेको उम्मेदवारलाई उम्मेद्वारी दर्ता गर्न रोकेर अर्को टीमले उम्मेद्वारी दर्ता गराइएको छ। रुपा गाउँ पालिकाकाे अध्यक्ष पदमा पार्टीले टिकट दिका नेता आनन्द सुवेदीलाई उनकै पार्टीका नेता कार्यकर्ताले दिनभर नाराबाजी गर्दै बिरोध गरेर उम्मेदवारी दर्ता गर्न नदिन बाटो छेकेर पार्टीको अर्को निर्णय गराएर अर्को समुहले उम्मेदवारी दर्ता गराएको छ।

सुवेदीलाई दिएकाे अध्यक्षकाे टिकट गिमाया गुरुङलाई दिइएकाे छ । सुवेदीलाई अध्यक्षकाे टिकट दिँदा गिमायाले उपाध्यक्षकाे टिकट पाएकी थिइन् । गिमाया अध्यक्षमा बढुवा भएपछि उपाध्यक्षकाे टिकट नारायण श्रेष्ठले पाएका छन् । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलको पत्राचारपछि कांग्रेस कास्कीले रुपा गाउँपालिकामा उम्मेदवार परिवर्तन गरेको बताइएको छ ।

रुपा गाउपालिकामा भने एमालेले गाउपालिकाको प्रमुखमा पुरानै अध्यक्ष नवराज ओझालाई दोहोर्याएर उम्मेदवार बनाएको छ।

ब्यापक निर्वाचन आचारसंहिता उल्लङ्घन

निर्वाचान आचारसंहिता लागू गरेको छ। तर उम्मेदवारी दर्ताका क्रममा आचार संहिताको धज्जी उदाइएको पाइएको छ। निर्वाचन अनुगमनमा खटिएका अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख शिव खकुरेलले उम्मेदवारी दर्ता क्रममा ब्यापक आचारसंहिता उल्लङ्घन भएको जानकारी दिए। उनले निर्वाचन आचारसंहितामा तोकिएकोभन्दा ठुला ठुला साइजमा आबश्य्क्भन्दा बढी पार्टीका झण्डा प्रयोग भएका, गाजाबाजा र मोटरसाइकल र्याली गरिएको जानकारी दिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छिमेकी देशहरु चीन र भारतमा कोरोना भाइरस बढिरहेकाले नेपालमा जनतालाई स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरिरहेको छ। तर निर्वाचन अधिकृतको कार्यालय र वरपर ब्यापक मानिसहरु पार्टीका झण्डा बोकेर ठेलमठेल गरेर बसिरहेका थिए। लाग्थ्यो, त्यहाँ कुनै मेला लागिरहेको छ। त्यहाँ कोही कसैलाई कोरोन महामारीको भय देखिदैनथ्यो। मुख्य निर्वाचन धिक्रित्को कार्यालयभित्र त् मानिसको भिड भए पछि पटक पटक उम्मेद्वारी दर्ता गरिसकेका उम्मेदवार र प्रतिनिधिलाई बाहिर जान माइक्मार्फ़त अनुरोध गरिएको थियो। त्यतिले मात्र नपुगेर प्रहरीले पटक पटक सिटि फुकेर धकेल्दा समेत भिड कम हुन् सकेको थिएन।

पोखराको मेयरमा २५ जनाको मनोनयन दर्ता (सूचिसहित)

१२ वैशाख, पोखरा । पोखरा महानगरपालिकाको मेयरमा २५ जनाले मनोनयन दर्ता गरेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले राति ११ बजे अद्यावधिक गरेको तथ्यांक अनुसार २५ जनाले मेयरमा उम्मेदवारी दायर गरेका हुन् ।

क्र.सं. नाम उमेर लिङ्ग दल
१ खडक राज पौडेल ४२ पुरुष स्वतन्त्र
२ विमल वहादुर कार्की ४७ पुरुष स्वतन्त्र
३ संजय तिमिल्सिना २८ पुरुष मौलिक जरोकिलो पार्टी
४ राम राज अधिकारी ४२ पुरुष स्वतन्त्र
५ डिल बहादुर गुरुङ ४४ पुरुष स्वतन्त्र
६ भोज राज खनाल ४० पुरुष सचेत नेपाली पार्टी
७ नबराज बास्तोला ४८ पुरुष स्वतन्त्र
८ प्रेम प्रसाद गुरुङ्ग ३८ पुरुष मंगोल नेशनल अर्गनाइजेसन
९ किशान सिहं गुरुङ्ग ६५ पुरुष स्वतन्त्र
१० मुक्‍ती नाथ सुबेदी ६६ पुरुष नेपाली जनता दल
११ गोविन्द गुरुङ्ग ३५ पुरुष राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
१२ मुना वानीया ३७ महिला आमूल परिवर्तन मसिहा पार्टी नेपाल
१३ नन्द प्रसाद तिवारी ६२ पुरुष स्वतन्त्र
१४ अनिल कुमार राई ४२ पुरुष संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
१५ आशिष थापा ४१ पुरुष उन्‍नत लोकतन्त्र पार्टी
१६ सुनिल बहादुर कोइराला ४८ पुरुष स्वतन्त्र
१७ भोज राज त्रिपाठी ५० पुरुष नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी
१८ ऋषि राम सापकोटा ६७ पुरुष स्वतन्त्र
१९ सरण सिंह मोक्तान ४३ पुरुष जनमत पार्टी (जपा)
२० रन बहादुर दमै ५९ पुरुष देशभक्त समाज
२१ रोशनी बानिया(बस्नेत) ३० महिला नेपालका लागि नेपाली पार्टी
२२ कृष्ण बहादुर थापा ६२ पुरुष नेपाल कम्युनिष्ट पार्टी (एमाले)
२३ धन राज आचार्य ५२ पुरुष नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)
२४ श‌ंकर खराल ५० पुरुष राष्ट्रिय प्रजातन्त्र पार्टी
२५ गोविन्द प्रसाद शर्मा ५८ पुरुष नेपाल कम्युनिष्ट पार्टी (समाजवादी)

प्रतिक्रिया