चितवनको माडीमा १० सुकुम्बासीका घरमा आगजनी : सुकुम्बासीका नागरिकता पनि जलाइए

चितवनको माडीमा १० सुकुम्बासीका घरमा आगजनी : सुकुम्बासीका नागरिकता पनि जलाइए


  • जन संचार
  • सोमबार, १४ चैत्र २०७८
  • 5.1K
    Shares

सरकारले चितवनका १२ हजार सुकुम्बासीलाई जग्गाधनी प्रमाणपुर्जा दिएको समाचारहरु सार्वजनिक भैरहेकै बेला चितवनको माडीमा सुकुम्बासीका १० घरमा आगजनी गरिएको खबर छ।

चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले माडीको कुसुमखोलामा रहेको १० घरमा आइतबार आगजनी गरिदिएको हो । निकुञ्जले ती सुकुम्बासीहरु बसेको जग्गा आफ्नो भएको दाबी गरेको छ।

चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीको नेतृत्वमा गएका नेपाली सेना सहितको टोलीले उनीहरुको नागरिकता समेत घरमा आगो लगाएका पिडित सुकुम्बासीहरुले बताएका छन्। अद्यापि निकुञ्ज प्रशासनले मानवीय तथा भौतिक क्षति नहुने गरी घरमा आगजनी गरिएको दाबी गरेको छ। “एकपटक स्थानान्तरण गरिसकेपछि पनि पुनः गएर घर बनाएको हुनाले निकुञ्जले घर जलाएको हो’ निकुञ्ज स्रोतले भन्यो, ‘मानवीय र भौतिक क्षति नहुने गरि नयाँ बनाइएको संरचनामा मात्रै आगो लगाइएको हो ।’

स्थानीय बासिन्दाले भने निकुञ्ज प्रशासनले नागरिकता समेत जलाइदिएको आरोप लगाएका छन् । उनीहरूले स्थानीय बासिन्दाको नागरिकता सहितको महत्वपूर्ण कागजात समेत निकाल्न नदिइ घरमा आगजनी गरेको आरोप लगाएका छन् । माडीका अगुवा स्थानीय श्रीप्रसाद दवाडीले स्थानीयले आकाश भुजेलको घर र नागरिकता समेत जलाइदिएको आफूलाई जानकारी आएको बताए ।

आगजनी भएको खबर पाएसंगै माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकाल सहितको टीम सो क्षेत्रमा आइतबार साँझ नै पुगेको छ । नगरप्रमुख ढकालले कुसुमखोलाका जनतालाई सुरक्षित स्थानान्तरणको काम जारी रहँदा स्थानीय सरकारसंग समन्वय नगरी आगजनी गरिनु दुखद् रहेको बताए ।

माडी नगरपालिका वडा नम्बर ९ मा पर्ने कुसुमखोलामा यसअघि पनि चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले आगजनी गरेको थियो । उक्त क्षेत्र निकुञ्ज भित्र पर्ने भन्दै २०७७ साल भदौ महिनामा स्थानीयलाई हटाउन निकुञ्ज प्रशासनले आगजनी गरेको थियो ।

यसअघि माडी नगरपालिकाले कुसुमखोला लगायतका निकुञ्जको क्षेत्रका बासिन्दाहरु बाढी, जंगली जनावरको जोखिममा रहेको भन्दै दुई सय भन्दा बढी घरधुरी स्थानान्तरण गरेको थियो । त्यस क्षेत्रका सुकुम्बासीलाई माडीको ७, ८ र ९ नम्बर वडाका विभिन्न क्षेत्रमा राखिएको छ ।

माडी नगरपालिका चितवन राष्ट्रिय निकुञ्जको पूर्ण मध्यवर्ती क्षेत्रमा पर्दछ । उक्त क्षेत्रका निकुञ्ज छेउछाउ अव्यवस्थित बसोबास गर्ने सुकुम्बासीहरुको स्थायी बसोबासको विषयलाई लिएर राजनीतिक दलहरुबीच विवाद पनि हुँदै आएको छ ।

प्रतिक्रिया