न्युजिल्यान्डमा रहेका नेपालीहरुले ६८ औं सगरमाथा दिवस भब्य रुपमा मनाए

न्युजिल्यान्डमा रहेका नेपालीहरुले ६८ औं सगरमाथा दिवस भब्य रुपमा मनाए


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ३० जेष्ठ २०७८
  • 8.3K
    Shares

बिश्वब्यापी कोविड महामारीका बीच पनि न्युजिल्यान्डमा रहेका नेपालीहरुले ६८ औं सगरमाथा दिवस भब्य रुपमा मनाए।

ऐतिहासिक दिनको सम्झनामा यहाँ सरकारी तवरबाटै मनाइने उत्सवहरूका सन्दर्भमा मनाइएको सगरमाथा दिवसमा कार्यक्रम स्थललाई उपस्थित सबै नेपालीले शेर्पा संस्कृति झल्किने मौलिक पारम्परिक भेषभूषामा सज्जिएर उपस्थित भएका थिए।

न्युजिल्यान्ड संसद् भवन बेङ्कट हलमा दोस्रोपटक आयोजित त्यस भब्य कार्यक्रममा  न्युजिल्यान्ड सरकारका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि लेवर पार्टीका सांसद् गौरव शर्माले आफू नेपाली नभएर भारत हिमाचलप्रदेशको मूलको भए पनि हिमाली र छिमेकी नाताले नेपालीप्रति आत्मीय सम्बन्ध रहेको बताउँदै कार्यक्रमको सांस्कृतिक आयोजनप्रति खुशी व्यक्त गरे । शर्मासितै नेपालभूमिबाट तेन्जिङ्का सन्तानले पनि अनलाइन विधिबाट कार्यक्रमको सफलताका निम्ति सद्भाव व्यक्त गरेका थिए ।

जैविक विविधतामन्त्री प्रियङ्का राधाकिसनले हिलारी र शेर्पाद्वयको ऐतिहासिक सफल आरोहणले विकसित दुई देशबीचको सम्बन्ध आगामी दिनमा अझै सुदृढ हुने बताइन् ।

यसै गरी यातायातमन्त्री माइकल वुडले नेपालीहरूले आयोजन गर्ने कार्यक्रममा उपस्थित हुन पाउँदा आफूलाई आनन्दको अनुभूति भएको कुरा उल्लख गर्दै  आगामी दिनमा न्युजिल्यान्डभित्र नेपालीलाई पर्ने समस्या समाधान गर्न सधैं अगाडि आउने बताए ।

न्यूजिल्यान्ड र अष्ट्रेलियाका लागि कार्यवाहक नेपाली राजदूत द्रुपदा सापकोटाले कार्यक्रमका निम्ति आयोजकलाई थप हौंसला प्रदान गर्दै कोविड महामारीका पृष्ठभूमिमा नेपाल सरकारलाई एक मिलियन डलर सहयोग प्रदान गरेकोमा न्युजिल्यान्ड सरकारलाई धन्यवाद व्यक्त गरिन् । महामारीको अन्त्यसँगै दुई देशबीच पुन: जनस्तरबाटै आवतजावत सुचारू हुने कुराप्रति उनले विश्वास व्यक्त गरिन् ।

हिमालयन ट्रष्ट न्युजिल्यान्डले नेपालका हिमाली क्षेत्रमा अहिलेसम्म प्रशस्त हस्पिटल र स्कूल बनाएको चर्चासहित सो ट्रष्टका अध्यक्ष एवम् एडमन्ड हिलारीका छोरा पिटर हिलारीले आगामी दिनमा सो सहयोग अझ व्यापक बनाउने प्रतिबद्धता जनाए ।

न्युजिल्यान्डका लागि अवैतनिक वाणिज्यदूत आत्माराम खनाल र पिंटर गिब्बास, एनआरएनए अध्यक्ष लाल केसी, नेपाली पर्यटनदूत रमिल अधिकारी, समाजसेवी दिनेश खड्का लगायत कार्यक्रममा न्युजिल्यान्ड सरकारका सत्ता र विपक्षी पार्टीका विविध सांसद्हरूको समेत उपस्थिति रहेको थियो । नेपाली समाज वेलिङ्टनका अध्यक्ष परीक्षित निरौलाले कार्यक्रम आयोजक नेपलिज सोसाइटी वेलिङ्टनका साथै उपस्थित आगन्तुकप्रति धन्यवाद व्यक्त गरे । कार्यक्रम सञ्चालन नवजीव ढुङ्गाना र पासाङ् ल्हामु शेर्पाले संयुक्त रूपमा गरेका थिए ।

धेरै देशको धेरैपटकको प्रयासपश्चात् प्रथमपटक विश्वकै सर्वोच्च शिखर सगरमाथामा नेपाली तेन्जिङ् शेर्पा र न्युजिल्यान्डनिवासी एडमन्ड हिलारीले सन् १९५३ मई २९ का दिन सफल आरोहणको इतिहास रचेका थिए ।

 

प्रतिक्रिया