साउदी अरबले ‘देशद्रोह’ को आरोप लगाउंदै तीन जना सैनिक उच्च अधिकारीलाई शनिबार मृत्युदण्ड दिएको छ।
रक्षा मन्त्रालयले जारी गरेको प्रेस बिज्ञप्तिलाई उद्दृत गर्दै राज्य सञ्चालित समाचार संस्था ‘साउदी प्रेस एजेन्सी’ले प्रकाशित गरेको समाचार अनुसार, सैनिक अधिकारीहरू, मेहम्मद विन अहमद, साहेर विन इसा र हमद विन इब्राहिमलाई मृत्युदण्डको फैसला सुनाइएको हो। तर उनीहरूले कोसँग राज्यविरोधी गतिविधि गरे भन्ने नखुलाइएको प्राप्त समाचारमा जनाइएको छ।
विज्ञप्तिमा भनेको छ, “सेनाले ‘शत्रुलाई सहयोग पुर्याई’ देशद्रोहको अपराध गर्ने तीन सैनिकलाई मृत्युदण्ड दिने ठहर गरेको छ।”
यो घोषणा ३५ वर्षीय उत्तराधिकारी साउदी राजकुमार मोहम्मद विन सलमानले सिंहासनका लागि आफूलाई सशक्त बनाउने क्रममा आएको हो। यही समय साउदी अरबले छिमेकी राष्ट्र यमनमा सैन्य अभियानलाई सशक्त बनाउन थालेकोले पनि यमनविरूद्धको अभियानमा उनीहरूले सशक्त भूमिका निर्बाह नगरेको अपुष्ट आरोपहरू सुनिँदै आएका थिए।
प्रिन्स मोहम्मदलाई पहिले देखि नै देशको नयाँ नेतृत्वको दाबेदारका रूपमा हेरिन्छ। उनले सरकारको सबै प्रमुख संयन्त्रहरूका साथै अर्थव्यवस्थामा नियन्त्रण जमाएकाे बताउने गरिएको छ।