रोजगारीका लागि साउदी अरबिया पुगेका हालसम ८९ जना नेपालीको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ। साउदी अरबमा मृत्यु भएका ८९ जना नेपालीमध्ये ७३ जना रियादस्थित दुतावास र १६ जना वाणिज्य दुतावास जेद्धामार्फत कोरोना संक्रमणवाट मृत्यु भएको जानकारी आएको हो।
साउदी सरकारले कोरोना भाइरस विरूद्ध लगाइने भ्याक्सिन सरकारी अस्पतालसँगै प्राइभेट अस्पतालमा पनि व्यवस्था गरेको छ। आप्रवासी तथा साउदी नागरिक गरी हालसम्म १९ लाख ९२ हजारभन्दा बढी नागरिकले पहिलो चरणको भ्याक्सिन लगाउनुको साथै केही मात्रामा नेपालीले समेत भ्याक्सिनको प्रयोग गरिसकेका छन् भने बाँकी भ्याक्सिनको पर्खाइमा छन्।
साउदीमा कोरोना भाइरसलाई मध्यनजर गर्दै बन्द भएका नियमित उडान १७ मे २०२१ पछाडि खुल्ने भएको छ। सरकारले कोरोना भाइरसलाई नियन्त्रणमा ल्याउन बिना माक्स घुमफिर गर्नेलाई १ हजार रियल जरिवाना समेत तोकेको छ।
साउदीमा कोरोना नियन्त्रणसँगै नेपाली कामदारको माग पनि बढेको छ। दुतावास रियादले २४ जनावरी २०२१ पछि हालसम्म २४ हजार बढी नेपालीको डिमाण्ड प्रमाणीकरण गर्नुको साथै वाणिज्य दुतावास जेद्धाले १ हजार २ सयको डिमाण्ड प्रमाणीकरण गरेको छ भने दुतावासले पासपोर्ट नवीकरण भइ आएकाको सुची सार्वजनिक गर्दै नियोगमा लिन अनुरोध समेत गरेको छ।
साउदीका लागि नेपाली राजदुत महामहिम प्रो डा महेन्द्र राजपूत सिंहले कोरोना भाइरसलाई मध्यनजर गर्दै साउदीमा कार्यरत नेपालीलाई साउदी सरकारले लगाएको कानुनको पालना गरी सुरक्षित रूपमा काम गर्न सुझाव दिएका छन्। अवैधानिक र वैधानिक रुपमा लगभग ३ लाख ५० हजार नेपाली कार्यरत रहेका छन्। कुटनैतिक स्तरमा साउदी सरकारसँग छलफल गरी नेपाली कामदारलाई योग्यता, सीप अनुसारको उच्च तलव र सुबिधा सहित मेनपावर व्यवसायी संग छलफल गरी आवश्यक डिमाण्ड थप गर्दै जाने जानकारी दिएका छन्।
नेपाली मागपत्र प्रमाणीकरण अनलाईन प्रकियाबाट सुरू गरिएकाले काममा केही समस्या देखिएता पनि कम्पनी र क्रमबद्ध आधारमा रोजगारदाताहरुबाट नयाँ मागपत्रको निवेदन प्रमाणीकरणमा गर्दै आइरहेको जानकारी दिएका छन्।
साउदी सरकारले १४ मार्च २०२१ देखि साउदीमा कफाला सिस्टम हटाएको छ भने सहजै रूपमा आवश्यकता अनुसार रोजगारदाता परिवर्तन गर्न पाउनेछ नियम लागु गरेको छ।
साउदीमा कोरोना भाइरसबाट हालसम्म ३ लाख ८२ हजार ५९ जना संक्रमित हुनुको साथै ६ हजार ५ सय ६३ जनाको मृत्यु भएको छ भने ३ लाख ७२ हजार ४ सय ५६ जना निको भएका छन्। स्रोत अन्नपूर्णपोस्ट