भारतको पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री ममता बनर्जीमाथि आक्रमण भएको छ । बुधबार विधानसभा निर्वाचनका लागि मनोनयन दर्ता गर्न गएकी बनर्जीले आफूमाथि ४–५ जना पुरुषले आक्रमण गरेको बताउँदै यो आक्रमण नियोजित भएको बताएकी छिन् । नन्दीग्रामको हाइप्रोफाइल सिटमा ममताले प्रतिस्पर्धी सुभेन्दु अधिकारीविरुद्ध चुनाब लड्दैछिन् ।
हिन्दूस्तान टाइम्सका अनुसार तृणमूल कांग्रेसका नेताहरुले यो घटना बुधबार बेलुकी करिब साढे ६ बजे भएको बताएका छन् । त्यतिबेला ममता स्थानीय मन्दिरमा पूजा समेत फर्किने तयारी गर्दै थिइन् । उनले भीडसँग कुराकानी गरिरहेका बेला आक्रमणकारी व्यक्तिहरु ममतासम्म पुगेको बताइएको छ ।
‘म कारभित्र थिएँ र जनतालाई अभिवादन गरिरहेकी थिएँ । त्यही बेला ती व्यक्तिहरु आए र ढोका हाने । मेरो खुट्टामा चोट लागेको छ । त्यहाँ धेरै मानिसहरु थिए तर ४–५ जना मानिसहरुले जानाजान आक्रमण गरे । निश्चित रुपमा यो षड्यन्त्र हो’ ममताले भनिन् ।
मुख्यमन्त्रीको उपचारमा खटिएका डाक्टरले भने उनको बायाँ खुट्टामा गम्भीर चोट लागेको बताएका छन् । उनका अनुसार उनको दायाँ काँध, पाखुरा र गर्धनमा पनि चोट लागेको छ । मुख्यमन्त्रीलाई २४ घण्टा ४८ घण्टासम्म चिकित्सकीय निगरानीमा राखिने उनको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
मुख्यमन्त्री बनर्जीले भारतीय निर्वाचन आयोगमा उजुरी दिने बताएकी छिन् । ६६ वर्षकी ममतालाई सामान्यतया जेड प्लस सुरक्षा दिइन्छ । उनले घटनाको बेलामा आफूलाई ज्वरो आएको र घटनास्थलमा कुनै स्थानीय पुलिस पनि नभएको बताएकी छिन् ।
पश्चिम बंगालको पूर्वी मोदिनीपुर जिल्लाका अधिकारी र प्रहरी अधिक्षकले नन्दीग्रामको बिरुलिया बजारको भ्रमणको क्रममा केही अज्ञात मानिसले उनलाई धक्का दिएको बताएका छन् । यसैबीच ममता बनर्जीको पार्टी तृणमूल कांग्रेसले आफ्नो नेतामाथि भएको आक्रमणको विरोधमा आफ्नो घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम स्थगित गरेको छ ।
बुधबार भएको घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । तृणमूल कांग्रेसले यो घटनामा विपक्षीको हात रहेको बताएको छ । भारतीय जनता पार्टीले भने यो आक्रमणलाई नौटंकीको संज्ञा दिँदै यसबारे अनुसन्धान हुनुपर्ने माग गरेको छ ।
विपक्षीहरुले भने उनलाई जेड प्लस सुरक्षा दिइएको र यो सुरक्षा तोडेर उनीमाथि कसैले आक्रमण गर्न नसक्ने भएकाले उनले मानिसहरुको सहानुभूति बटुल्न यो नौटंकी गरेको बताएका छन् । मुख्यमन्त्री बनर्जीले भने आफू कारमा यात्रा गरिरहेको समयमा सुरक्षाकर्मी आफ्नो साथमा नरहेको र सोही मौकामा आफूमाथि आक्रमण भएको बताएकी थिइन् ।