रूसी राष्ट्रपति पुटिनका खरो आलोचक विपक्षी नेता नाभाल्नी विमानस्थलबाटै पक्राउ

रूसी राष्ट्रपति पुटिनका खरो आलोचक विपक्षी नेता नाभाल्नी विमानस्थलबाटै पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ५ माघ २०७७
  • 4.8K
    Shares

रुसी विपक्षी नेता नाभाल्नी विमानस्थलबाटै पक्राउ

रूसी राष्ट्रपति भ्लादिमर पुटिनका खरो आलोचक विपक्षी नेता अलेक्सी नाभाल्नीलाई पाँच महिनापछि स्वदेश फर्किदै गर्दा विमानस्थलबाटै पक्राउ परेका छन्।

स्वास्थ्योपचार पछि जर्मनीको वर्लिनबाट जहाज चढेर रुसको सेरेमेत्येभो विमानस्थलमा अवतरण हुनासाथ उनलाई आइतबार राति रूसी अधिकारीहरूले पक्राउ गरेका हुन्।

स्वेदश फर्किए क्रेमलिनले उनलाई पक्राउ गर्ने तयारी गरेको छ भन्ने थाहा पाएरै उनी रूस पुगेका थिए। उनलाई पक्राउ गर्न रूसी अधिकारीहरूले जहाज नै डाइभर्ट गर्न लगाएका थिए। सुरूमा उनी चढेको जहाज मस्कोको भिनुकोभो विमानस्थलमा अवतरण हुने तय थियो। नाभाल्नीलाई स्वागत गर्न विमानस्थलमा उनका समर्थकको भीड लागेको थियो।

अन्तिम समयमा पाइलटले प्राविधिक समस्याका कारण पूर्वनिर्धारित विमानस्थलमा अवतरण गर्न नसक्ने बताए र जहाज डाइभर्ट गरेर सेरेमेत्येभो विमानस्थलमा अवतरण गराई उनलाई पक्राउ गरिएको थियो ।

नाभाल्नीलाई केही महिनाअघि जहाजमा हुँदा विष खुवाइएको थियो। कोमामा पुगेका उनलाई उपचारका लागि जर्मनी लगिएको थियो। निको भएपछि उनी पत्नी र अन्य सहयोगीहरूसँग आइतबार स्वदेश फर्किएका थिए।

रूसी राष्ट्रपति भ्लादिमर पुटिनका खरो आलोचक मानिएका नाभाल्नीले पुटिन शासनमा भएका भ्रष्टाचारबिरुद्ध थालेको अनुसन्धानले रूसभरि पुटिनविरूद्ध आक्रोश जन्माएको छ।

नाभाल्नी पक्राउको विरोध गर्दै अमेरिका र युरोपियन युनियनका मुलुकले उनको तत्काल रिहाइका लागि माग गरेका छन्।

प्रतिक्रिया