अमेरिकी संसद भवनमा आक्रमण, एकको मृत्यु, सिनेटमा डेमोक्र्याट्सको कब्जा

अमेरिकी संसद भवनमा आक्रमण, एकको मृत्यु, सिनेटमा डेमोक्र्याट्सको कब्जा


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २३ पुष २०७७
  • 11.1K
    Shares

अमेरिकी कंग्रेसमा सांसदहरुले जो बाइडेनको जितको पुष्टि गर्न छलफल गरिरहेका बेला राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले अमेरिकी संसद भवन क्यापिटल बिल्डिङभित्रै पसेर आक्रमण गरेका छन् भने संसद भवनभित्रै गोली लागेर एकजना महिलाको मृत्यु भएको छ । अवस्था तनावग्रस्त बनेपछि राजधानी वासिङ्टनमा कर्फ्यु घोषणा गरिएको छ ।

सदनभित्र बहस चलिरहेकै बेला हतियारसहितका राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थक झ्याल र ढोका तोडफोड गरेरै सहामुख्को कार्यकक्षमा पसेर ट्रम्पको पक्षमा नाराबाजी गरेका थिए । त्यसपछि संसद भवनभित्रै प्रदर्शनकारी र प्रहरीबीच हिंस्रक झडप हुँदा प्रहरीले चलाएको गोली लागेर एक महिलाको मृत्यु भएको सीएनएनले पुष्टि गरेको छ । ती महिलालाई छातीमा गोली लागेको थियो । प्रदर्शनमा ६ जना गम्भीर घाइते छन् । दुई दर्जन पक्राउ परेका छन् भने सुरक्षाकर्मीले २ विस्फोटकसहित ५ हतियार नियन्त्रणमा लिएका छन् ।

संसद भवनभित्रै स्थिती तनावग्रस्त बनेपछि सभामुख न्यान्सी पेलोसी, उपराष्ट्रपति माइक पेन्स र अन्य सांसदलाई सुरक्षित स्थानतर्फ लगिएको थियो । लगत्तै नेसनल गार्डले संसद परिसरमा लकडाउन घोषणा गरेका थिए । प्रदर्शनकारी संसद भवनभित्र तोडफोड गर्दा पनि प्रहरी मूकदर्शक बनेको देखिन्थ्यो । केही प्रदर्शनकारीले तोडफोड गर्दै प्रहरीसँग सेल्फी लिइएको दृश्यहरु थिए ।

यो समाचार लेख्दासम्म सभामुख नेन्सी पेलोसीले संयुक्त सदनको काम सुचारु गर्ने बताउँदै जो बाइडेनलाई राष्ट्रपतिको रुपमा आधिकारिकरुपमा घोषणा गर्ने जनाएकी छन् । राष्ट्रपति ट्रम्पलाई महाभियोग लगाउने केही सांसदको तयारीको खबर पनि आएको छ भने चुनावलाई चुनौत दिन केही रिपब्लिकन सांसद पछि हटेको खबर छ । हिंसा भड्काउन नियतले लेखिएका ट्रम्पका केही ट्वीटलाई ट्वीटरले हटाइदिएको छ ।

स्थिति नियन्त्रण भन्दा बाहिर जान थालेपछि वासिङ्टनमा मेयरले घोषणा गरेको कफ्र्यु सुरु भएको छ । बेलुका ६ बजेदेखि सुरु भएको कर्फ्यु आदेश बेलुका ६ बजेसम्म जारी रहनेछ । कर्फ्युको बाबजुद पनि संसद भवन क्षेत्र वरपर प्रदर्शन भैरहेको छ ।

संसद आक्रमणको घटना लगत्तै देशवासीको नाममा सम्बोधन गर्दै राष्ट्रपति पदमा निर्वाचित जो बाइडेनले यो अन्यौलता र हिंसाको अन्त्य गर्न ट्रम्पलाई आग्रह गरेका छन् । अमेरिकी लोकतन्त्रमा ट्रम्पले कू गर्ने प्रयास गरेको भन्दै उनले लोकतन्त्रमाथि हमला भएको टिप्पणी गरेका छन् । कमला ह्यारिस लगायत जर्ज बुसले समेत अमेरिकी संसदमाथिको आक्रमण लोकतन्त्रमा शोभनिय नभएको बताएका छन् ।

१२ इलेक्टोरल मत प्रमाणिकरण गरेर स्थगित भएको संसदको संयुक्त बैठक कतिबेलादेखि सुचारु हुने निश्चित छैन । संसद भवनबाट सबै प्रदर्शनकारीलाई बाहिर निकालिएको छ । अहिलेसम्म जम्मा २ वटा राज्यको मात्र इलेक्टोरल मत प्रमाणिकरण गरिएको छ । अलाबाम र अलास्काको मत प्रमाणिकरण गरे लगत्तै एरिजोनाको मत प्रमाणीकरण गर्ने रिपब्लिकनहरुले असहमति जनाएका थिए ।

जर्जिया विजयपछि हाउसमा डेमोक्र्याट्सको नियन्त्रण
जर्जिया राज्यबाट सिनेटका दुबै सिटमा डेमोक्र्याट्सका उम्मेदवारले जितेका छन् । ३३ वर्षका डेमोक्र्याट उम्मेदवार जोन आसेफले रिपब्लिकन उम्मेदवार डेभिड पर्ड्युलाई पराजित गरे । अब संसदका दुबै सदनमा डेमोक्र्याटको नियन्त्रण हुने भएको छ ।

यसअगाडि जर्जियाबाट डेमोक्र्याटिक उम्मेदवार राफल वार्नकको जित भैसकेको छ । उनले रिपब्लिकन उम्मेदवार केली लोफ्लरलाई पराजित गरेका थिए । अब सिनेटका सय सिटमा ५० सिट डेमोक्र्याटले र ५० सिट रिपब्लिकनले जितेका छन् । उपराष्ट्रपतिले गर्ने ट्राइबेक मतका आधारमा डेमोक्र्याट्सको नियन्त्रण हुनेछ।

प्रतिक्रिया