जुगेडा प्रहरी पोष्टका प्रमुख असई बिक र प्रज साउद हत्याका मुख्य योजनाकार पक्राउ

जुगेडा प्रहरी पोष्टका प्रमुख असई बिक र प्रज साउद हत्याका मुख्य योजनाकार पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १३ पुष २०७७
  • 5.8K
    Shares

कैलालीको जुगेडास्थित अस्थाई प्रहरी पोष्ट जुगेडामा कार्यरत प्रहरी सहायक निरीक्षक गोबिन्द बिक र प्रहरी जवान रामबहादुर साँउदको हत्याका मुख्य आरोपीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीले सोमबार पत्रकार सम्मेलन गरी मुख्य अभियुक्त धनगढी उपमहानगरपालिका- १० चकमलीका ३५ वर्षीय सुकबहादुर राना भनिने अमर रानालाई सार्वजनिक गरेको हो।

उनलाई आइतबार बेलुका ७ बजे धनगढी–१४ फूलबारीबाट पक्राउ गरिएको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जवराले जानकारी दिए ।

यसअघि सोही घटना अभियोगमा पक्राउ परेका ८ जनालाई पुर्पक्षको लागि कारागार चलान गरिएको छ। कारागार चलान हुनेहरुमा धनगढी उपमहानगरपालिका-१० बस्ने ३१ वर्षीय पर्कु भन्ने रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भन्ने सुरेश राना, २५ वर्षीय गब्बर भन्ने राज कुमार राना, २२ वर्षीय राम निवास राना, २९ वर्षीय टल्लु भन्ने दलराम राना र सोही उपमहानगरपालिका-११ बस्ने २५ वर्षीय गोपाल भन्ने राम गोपाल राना रहेका छन् ।

दुई जना प्रहरीको हत्या पश्चात फरार मुख्य अभियुक्त राना प्रक्राउसँगै आजै अदालतमा पेस गरिने राणाले जानकारी दिए।

राना लामो समयदेखि भारतको वनकट्टी र सलियापारबाट नेपालमा अवैध सामान र नेपालबाट अवैधरूपमा भारत सामान पठाउने कार्यमा संलग्न रहेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

राना स्थानीय व्यापारीसँग मिलेर सामान भारत पठाउने गरेको र चकमलीमा उनको गोदामसमेत रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय मटर (केराउ) को तस्करीमा संलग्न रानाले त्यहीँ मटर लैजाने क्रममा अवरोध भएपछि रानाकै नेतृत्वको टोलीले निजकै घरबाट हतियार लगेर प्रहरी असई र जवानको हत्या गरेको प्रहरी निष्कर्ष छ।

गस्तीमा रहेको प्रहरीले वडा नम्बर १० स्थित मोहना नदीबाट अन्दाजी ४ सय मिटर उत्तरमा केराउ तस्करी गरिरहेको समूहलाई रोक्ने प्रयास गरेका थिए। त्यसैबेला योजनाबद्ध रूपमा तस्करहरूले धारिलो हतियारले प्रहार गरि दुवै प्रहरीको हत्या गरेका थिए। नाकाबाट केराउ तस्करी रोक्ने क्रममा कात्तिक २ गते जुगेडा प्रहरी चौकीका इन्चार्ज असई गोविन्द बिक र जवान रामबहादुर साउदको हत्या भएको थियो।

हत्यापछि घिसार्दै तस्करहरूले प्रहरीको शव नेपाल–भारत सीमाको मोहना नदीमा लगेर अपराध लुकाउने प्रयास गरेका थिए। त्यसको भोलिपल्ट सम्पर्कमा नआएका प्रहरी कर्मचारीको खोजी गर्दै जाँदा आइतबार बिहान ९ बजेर ७ मिनेटमा असई विकको शव हत्या गरी फालिएको अवस्थामा मोहना नदीभित्र फेला परेको थियो। त्यसको भोलिपल्ट मंगलबार बिहान सवा १० बजे जवान साउदको शव मोहना नदीभित्र फेला परेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार