राष्ट्रपति ट्रम्प समर्थित जुलुसमा गोली चल्यो, राजधानी डिसीमा चार व्यक्तिमाथि छुरा प्रहार, २३ जना पक्राउ

राष्ट्रपति ट्रम्प समर्थित जुलुसमा गोली चल्यो, राजधानी डिसीमा चार व्यक्तिमाथि छुरा प्रहार, २३ जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २९ मंसिर २०७७
  • 5.7K
    Shares

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा शनिबार निस्केका जुलुसमा छुरा प्रहार र गोली चलेको छ । चुनावमा धाँधली भएको भन्दै राष्ट्रपति ट्रम्पले निरन्तर आक्रोश व्यक्त गरिरहेको अवस्थामा उनको भनाईमा समर्थन जनाउँदै देशका विभिन्न शहरमा शनिबार प्रदर्शनहरु भएका थिए ।

वासिङटन राज्यको प्रहरीले ट्वीट गर्दै राज्यको राजधानी ओलम्पिया नजिक भएको पक्ष र विपक्षबीचको जुलुसमा गोली चलेको जनाएको छ । प्रहरीले एक जना शंकास्पद व्यक्तिलाई गिरफ्तार गरेको छ ।

अमेरिकी राजधानी वासिङ्टन डिसीमा चार जना व्यक्तिमाथि छुरा प्रहार भएको र उनीहरु अस्पतालमा भर्ना भएका छन् । घाइते चारै जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अमेरिकी अखबार न्यूयोर्क टाइम्सले उक्त घटनामा संलग्न रहेको आशंकामा २३ जनालाई पक्राउ गरिएको जनाएको छ ।

राष्ट्रपति ट्रम्पको पक्षमा ओलम्पिया, एटलान्टा र मिनेसोटाको सेन्ट पल, नेब्रास्का, अलाबामा र देशका अन्य भागमा पनि प्रदर्शनहरु भएका छन् ।

राजधानी वासिङटन डिसीमा भेला भएका प्रदर्शनकारीहरुले आफूहरु राष्ट्रपति ट्रम्पको पक्षमा निरन्तर जुलुसमा सहभागी हुने एएफपीलाई बताएका छन् ।

तर राष्ट्रपतिको समर्थन र विपक्ष दुबैतर्फ प्रदर्शन हुन थालेका छन् । राष्ट्रपति ट्रम्पको विरोधमा पनि प्रदर्शन भएका छन् । गत नोभेम्बर ३ मा भएको चुनावमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन विजयी भएका छन् । तर, राष्ट्रपति ट्रम्पले अझै पनि हार स्वीकार गरेका छैनन् ।

प्रतिक्रिया