नेत्र बिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जिल्ला कमिटि सदस्य हिमाल भनिने सहबिर सार्की (नेपाली) सल्यानमा शनिबार मृत अवस्थामा फेला परेका छन्।
आइतबार बिहान उनको शब् मौलाहाल्ने बजारको पश्चिम सडक देखि करिब ५० मिटर अगाडी मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको थियो । सार्की शनिबार (मंसिर२२) दिउँसो घरबाट बजार जान भनि निस्किएका थिए ।
सार्कीलाई आईतबार बिहान ९ बजेतिर स्थानीयले मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले मृतकको शव पोष्टमार्टमका लागि दाङ पठाएको थियो ।
उनको मृत्यु किन र कसरी भयो भनेर घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ।
यसैबीच, नेत्र बिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सल्यानले मृतक सार्की आफ्नो पार्टीको जिल्ला कमिटि सदस्य भएको जानकारी दिंदै भीरबाट लडेर मृत्यु भएको दाबी गरेको छ।
सोमबार एक वक्तव्य मार्फत पार्टीले सार्की प्रती शोक प्रकट गरेको छ । “महान तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी सल्यान जिल्ला कमिटि सदस्य सहोविर नेपाली क.हिमालको यही मिति २०७७-८-२० गते करिब राति ९–१० बजेको समयमा दार्मा गाउँपालिका र कुमाख गाउँपालिकाको बिच सिमाना मौलाहाल्ने बजार नजिकै भिडबाट लडेर भएको असामयिक निधन हाम्रो पार्टीलाई साह्रै मर्माहित एवं स्तब्ध बनाएको छ ।”
वक्तव्यमा भनिएको छ – “शोकको यस दुःखद घडीमा स्व. सहोबिर नेपाली ‘हिमाल’ प्रति पार्टी भावपूर्ण श्रदाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजना धैर्य धारणको कामना सहित हार्दिक समवेदना व्यक्त गर्दछौं ।”
इमानदार कम्युनिष्ट कार्यकर्ता, कम्युनिस्टका आदर्श र समाजसेवीको रूपमा सार्की स्थानीय स्तरमा लोकप्रिय थिए ।