पुर्व प्रम डा. भट्टराईद्वारा बिद्रोही ने.क.पा.लाई वार्तामा बोलाउन सरकारसंग माग

पुर्व प्रम डा. भट्टराईद्वारा बिद्रोही ने.क.पा.लाई वार्तामा बोलाउन सरकारसंग माग


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २७ बैशाख २०७७
  • 5.2K
    Shares

पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई वार्तामा ल्याउन सरकारलाई आग्रह गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै भट्टराईले कोरोनाले मुलुक अस्तव्यस्त भएको बेला एउटा निकास दिन आग्रह गरेका हुन् ।

उनले भने,‘ नेत्रविक्रम चन्दको समूह जो माओवादी आन्दोलनकै क्रान्तिकारी हिस्सा हो । जुन ढंगले अगाडी बढेको छ भलै उहाँहरुले लिएको बाटो ठिक छैन त्यो उनीहरुलाई पनि थाहा छ तैपनि कोरोनाका कारण सबैअस्तव्यस्त भएको बेलामा उनीहरुलाई पनि आउने एउटा निकास दिदा राम्रै हुन्छ ।’

उनले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य अनिल शर्मा विरहीको पक्राउबारे पनि चासो व्यक्त गरे । उनले भने,‘अस्ति भर्खर मात्रै सुन्यौं कि अनिल शर्मा ‘विरही’ जो हामी सबैले चिन्छौं । राम्रो लेखक, कलाकार, राम्रो खट्ने मान्छे हुन् । उनी घाईते थिए उपचार गराउँदै थिए । उनलाई गिरफ्तार गरेर राखियो भन्ने भने मैले सुने यस्तो प्रकारको गतिविधि गरेर राम्रो हुँदैन ।’

उनले विप्लव नेतृत्व नेकपासँग वार्ताका लागि पहल गर्न सुझाव दिदै भने,‘ खास गरि हाम्रो पूर्व माओवादी साथीहरु नै सत्तामा हुनुहुन्छ । गृहमन्त्री हुनुहुन्छ । उहाँलाई व्यक्ति रुपमा पनि चिन्हुन्छ । त्यो एउटा माहोल बनाउँदा हुन्छ ।’

आफ्नो पार्टी फुटाउन संबिधान संशोधन अध्यादेश ल्याएको प्रति आक्रोशित देखिएका पूर्वप्रधानमन्त्री डा.  भट्टराईले संसदमै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै जीर्ण शरीरलाई आराम दिन प्रधानमन्त्रीलाई आग्रह गरे ।

सांसद अपहरण प्रकरणमा प्रधानमन्त्री वा निकटस्थ संलग्न भएको र उनीहरुविरुद्ध जाहेरीसमेत नलिएको गुनासो गर्दै भट्टराईले, ‘उल्टै हामीमाथि नै मुद्दा लगाउने र परोक्ष र प्रत्यक्ष ढंगले फच्चे गर्न पहल गर्ने ?’ भन्दै प्रतिप्रश्न गरे।

ओलीको विकल्प के हुन्छ भन्ने प्रश्न उठ्ने भन्दै उनले पूर्वप्रधानमन्त्रीहरुले दाबेदार नबन्ने प्रस्ताव गरे । ‘६०/६५ उमेर कटेकाहरु प्रत्यक्ष कार्यकारीको भूमिकामा नरहने, प्रधानमन्त्रीको दाबेदार नबन्ने र हामीले नयाँ पुस्तालाई अगाडि ल्याउने दिशातिर गयौं भने देशले निकास पाउँछ । लोकतन्त्र सुदृढ हुन्छ’ उनले भने ।

प्रतिस्पर्धासँगै न्यूनतम राष्ट्रिय सहमति कायम गरेर अगाडि बढ्नुपर्ने भन्दै उनले कांग्रेस कम्युनिस्ट, पहिचानवादी शक्तिहरुबीच मेलमिलाप कायम गर्न आग्रह गरे । ‘तर तपाईहरुको सरकार गिरोस्, फेरि च्याखे थापेर सरकारमा जाउँ भन्ने मनसाय छैन । तपाईहरुले आफ्नै पार्टीका असल मान्छेहरुलाई अगाडि बढाउनुस् । पाँच वर्षलाई जनताले जनादेश दिएका छन् । त्यहाँ हाम्रो दाबी हुँदैन’ उनले भने, ‘तर महत्वपूर्ण राष्ट्रिय मुद्दामा मेलमिलाप कायम गरेर जाऊँ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार