कपिलवस्तु जिल्लामा दुई जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित भेटिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । संक्रमित दुबै जना मायादेवी गाउँपालिका वडा नम्बर २ का वासिन्दा हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेका छन् र अवस्था सामान्य छ ।
बिहीवार कोरोना भाइरसको संक्रमण पुष्टि भएका कपिलवस्तुका दुई युवक एकसाता अघि भारतबाट आएको खुलेको छ। उनीहरुलाई भारतको मुम्बईबाट एकसाता अघि जिल्ला प्रवेश गरेपछि क्वारेन्टाइनमा राखिएको थियो।
खुल्ला सिमानाको फाइदा उठाउँदै उनीहरु लुकेर नेपाल छिरेको थाहा पाएपछि स्थानीयले मायादेवी गाउँपालिका वडा नं. १ पकडीमा रहेको छत्रपाली तिर्थादेवी माविको क्वारेन्टाइनमा राखेका थिए।
उनीहरुमा संक्रमण भेटिएकाले उनीहरुको सम्पर्कमा आएकाहरुको पहिचान गर्ने काम भइरहेको बताइएको छ।
योसँगै प्रदेश ५ का तीन जिल्लामा कोरोना संक्रमण भेटिएको छ भने संक्रमितको संख्या २६ पुगेको छ। यसअघि बाँकेको नेपालगन्जमा २३ र रुपन्देहीको कोटहीमाईमा एक जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो।