सरकारले लकडाउन जेठ ५ सम्म लम्ब्याउने निर्णय गरेको छ। बुधबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
कोरोनाभाइरसको संक्रमण फैलिन नदिन सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको थियो। पछिल्लो पटक थपिएको लकडाउनको अवधि भोलि सकिँदै थियो।
पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेको र छिमेकी देश भारतले पनि मे १७ सम्मका लागि लकडाउन बढाएकाले सरकारले लकडाउन लम्ब्याएको हो ।
नेपालमा हालसम्म ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने तीमध्ये २२ जना निको भएका छन् । चैत ११ मा लकडाउन सुरु हुँदा नेपालमा दुई जना मात्र संक्रमित थिए ।
स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार प्रदेश एकमा ३१, प्रदेश २ मा १३, वाग्मतीमा ७, गण्डकीमा २, प्रदेश ५ मा २४ र सुदूरपश्चिम प्रदेशमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेशमा भने अहिलेसम्म कोरोना संक्रमण देखिएको छैन ।
मन्त्रिपरिषद्को बैठकले अन्तराष्ट्रिय हवाई उडान र सीमा नाकामा आवागमनमा लगाएको रोकलाई मे ३१ अर्थात जेठ १८ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । साथै भोलि २५ गते बुद्धजयन्तीको अवसरमा साँझ ७ बजे दीप प्रज्ज्वलन गर्ने निर्णय समेत गरेको छ ।