कोरोना भाइरस संक्रमणको भय फैलिरहेको बेला ठुलो संख्यामा नेपाल छिर्न खोज्ने भारतीयहरुलाई सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी बलले बल प्रयोग गरेर रोकेको छ।
झापा गाउँपालिका–४ स्थित सुकुम्वासी बस्ती नजिकैबाट सोमबार बेलुका पौने ५ बजे एक सयभन्दा बढी भारतीय नागरिकले सुरक्षाकर्मीमाथि बल प्रयोग गरी नेपाल प्रवेश गर्न खोजेपछि सीमामा तैनाथ सशस्त्र प्रहरीले दुई राउण्ड हवाई फायर गरेर उनीहरुलाई रोकेको थियो ।
सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट टाघनडुब्बादेखि सात किलोमिटर पूर्व १३१ नम्बर पिलर नजिकै बनाइएको अस्थायी पोस्टमा खटिएका सशस्त्र प्रहरीले भारतीय नागरिकको समूहलाई रोक्न हवाई फायर गर्नु परेको सशस्त्र प्रहरी बल २ नम्बर गण झापाका एसपी रेशमकुमार थक्सुले जानकारी दिए । सशस्त्र एसपी थक्सुका अनुसार दुईजना भारतीय नागरिक भारतीय नम्बर प्लेटको मोटरसाइकल चढेर नेपाल छिर्न खोजेका थिए ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि सीमामा तैनाथ सुरक्षाकर्मीले उनीहरूलाई छिर्न नदिई सम्झाई बुझाई फिर्ता पठाएका थिए । फिर्ता गएका ती दुई भारतीय नागरिकले डेढ देखि दुई सय गाउँले भेला गरी पुनः सीमामा लिएर आएका थिए ।
घरेलु हातहतियारसहित आएका भारतीय नागरिकले नेपाल प्रवेश गरी सुरक्षा पोस्टमाथि आक्रमण गर्न खोज्दा सशस्त्र प्रहरीले हवाई फायर गरेको हो । घटनामा कुनै मानवीय क्षति नभएको सशस्त्र एसपी थक्सुले बताए ।