जिल्ला प्रशासन कार्यालय गोर्खाले गोर्खाको प्रसिद्ध मनकामना मन्दिरका मूल पुजारी इन्सान थापा मगरको साथमा रहेको तीनवटा बन्दुक मध्ये दुई वटाको इजाजत खारेज गरेको छ ।
सुरक्षाको लागि लिएको बन्दुकले शिकार खेल्दै हिँडेको जनगुनासो बढेपछि लाइसेन्स खारेज गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । गोरखा प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीका अनुसार, मूल पुजारी मगरको नाममा रहेको एकनाले भरुवा र १२ बोरको बन्दुकको इजाजत खारेज गरिएको हो। इजाजत खारेज भएका दुई बन्दुक हाल जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
जिल्ला प्रशासन कार्यालय गोर्खाका अनुसार सुरक्षाका लागि भन्दै २०५१ सालमा उनले एक नाले भरुवा बन्दुकको इजाजत लिएका थिए । त्यसपछी २०७३ वैशाख ३१ गते पोखरा महानगरपालिका-५ निवासी शक्ति पराजुलीको नाममा रहेको २२ बोरको राइफल उनले आफ्नो नाममा नामसारी गरेका थिए । त्यस्तै, २०७३ माघ १७ गते साविकको बक्राङ-४ का टोपबहादुर थापा मगरको नाममा रहेको १२ बोरको बन्दुक पनि उनले आफ्नो नाममा नामसारी गरेको प्रशासनको तथ्यांकमा उल्लेख छ ।
सुरक्षाका लागि लिएको हतियार प्रयोग गर्दै पुजारीले शिकार खेल्ने गरेको गुनासो चौतर्फी बढेपछि प्रशासन दबाबमा थियो । वैशाख ५ गते शुक्रबार राति नौ बजे हतियारसहित पुजारी मगरलाई शहीद लखन गाउँपालिका–४ को ढोडेनी जंगलबाट स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । रातको समयमा उनी शिकार खेल्न हिँडेको स्थानीयको दाबी छ ।
त्यस बेला पुजारीको साथबाट बरामद २२ बोरको राइफलको लाइसेन्स भने प्रह्सासंले खारेज गरेको छैन। उक्त हतियार हालसम्म प्रहरीकै नियन्त्रणमा छ । मनकामना मन्दिरमा पूजाआजा गर्दा कहिलेकाहीँ बढाइ गर्नुपर्ने भएकाले त्यस बन्दुकको लाइसेन्स खारेज नगरिएको प्रशासनको दाबी छ। हाल जिल्ला प्रहरी कार्यालय गोरखामा रहने त्यस बन्दुक मन्दिरमा बधाई गर्ने बेलामा मात्र मन्दिरले ल्याएर चलाउन पाउनेछ।