नवलपरासीमा हाइलक्स दुर्घटना : श्रीमतीको मृत्यु, श्रीमान र छोराछोरी घाइते

नवलपरासीमा हाइलक्स दुर्घटना : श्रीमतीको मृत्यु, श्रीमान र छोराछोरी घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १ मंसिर २०८३
  • 1.4K
    Shares

पोखरा, ३० कार्तिक २०८३ ।

नवलपरासीमा हाइलक्स गाडी दुर्घटनाग्रस्त हुँदा श्रीमतीको निधन भएको छ भने श्रीमान र छोराछोरी घाइते भएका छन्।

काठमाडौंबाट बुटवलतर्फ जाँदै गरेको बा.प्र.०१–००३० च ८१६७ नम्बरको हाइलक्स गाडी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ विनयी खोला पुल नजिक आइतबार साँझ दुर्घटनाग्रस्त हुँदा श्रीमतीको निधन भएको हो भने श्रीमान र छोराछोरी घाइते छन्।

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–३ का गणेश तिमिल्सिनाले चलाएको उक्त हाइलक्स गाडी दुर्घटनाग्रस्त हुँदा उनको ३६ वर्षीया श्रीमती दीपिका तिमिल्सिनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। सडकबाट करिब १५ देखि २० मिटर तल खसेर भएको उक्त दुर्घटनमा गम्भीर घाइते भएकी दीपिकालाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा पुर्‍याइएको भए पनि उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका प्राप्त समाचारमा जनाइएको छ।

प्रहरीका अनुसार , सोहि दुर्घटनामा गणेश तिमिल्सिना, उनको १२ वर्षीय छोरा रयास तिमिल्सिना र १५ वर्षीया छोरी प्रपेशा तिमिल्सिना घाइते भएका छन्। घाइतेहरु मध्ये गणेशको अवस्था गम्भीर रहेको छ। टाउकोमा चोट लागेका उनलाई थप उपचारका लागि आइतबार राति ९ः१० बजे भरतपुरस्थित पुरानो मेडिकल कलेज रिफर गरिएको प्रहरीले जनाएको छ।

१२ वर्षीय छोरा रयास तिमिल्सिना र १५ वर्षीया छोरी प्रपेशा तिमिल्सिनाको अवस्था मध्यम रहेको र उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार